५ बुँदे निर्णय पारित गर्दै सकियो समन्वय समितिको बैठक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र बनाउन निर्देशन दिएका छन् । निर्धारित मितिमै प्रतियोगिता सञ्चालनका लागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरिरहेका गहतराजे शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको बैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारित गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको हलमा सञ्चालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुका साथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयन कालागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरिएको छ ।

त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद्÷बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागिता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ । बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूलाई समावेश गर्ने निर्णय गरेको छ ।

निष्क्रिय जनशक्तिलाई चलायमान गराउन निर्देशन
बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशभर निष्क्रिय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तिलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । राज्यको सेवा सुविधा लिएर निष्क्रिय बसेका कर्मचारीलाई नवौँ राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै उनले सक्रिय रूपमा काममा लगाउन निर्देशन दिएका हुन् ।

नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गर्नुभएको थियो । संघ, प्रदेश र स्थानीय तहबीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको बैठक बसेको हो ।

युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरू, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगायतको उपस्थिति रहेको थियो । ४ वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौँ संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =