कैलालीमा ठूलो संख्यामा राप्रपा प्रवेश, लिङ्देनले ४०० बढीलाई पार्टीमा भित्र्याए

धनगढी । विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धनगढीमा आयोजित समारोहमा विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा प्रवेश गराएका हुन् ।

अध्यक्ष लिङ्देनले एमाले परित्याग गरेका राजेश भण्डारी, रोम स्वाँर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी गराउने अभियानका संयोजक दानबहादुर रावल, डिल्ली जैसी, सम्राट सिंहसहित एमाले, कांग्रेस लगायत विभिन्न राजनीतिक दलमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरूको ठूलो संख्यालाई स्वागत गरे । पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला भनिने राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई रोक्न मात्रै होइन परास्त गर्न सबल राप्रपा निर्माणमा जोड दिएका छन् ।

‘हामी संघ र प्रदेशको निर्वाचनको निकट छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘यो निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौँ, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’ नवप्रवेशीहरुले षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको बताएका छन् ।

एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका राजेश भण्डारीले इमानदार नेतृत्वको अभावमा समाजको सबै क्षेत्र प्रदूषित बनेको र नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वको रूपमा राजेन्द्र लिङ्देनको उदय भएपछि राप्रपा आम जनताको आशा, भरोसाको नयाँ राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । अर्का नवप्रवेशी रोम स्वाँरले आवधिक निर्वाचनमा गरिने छनौटले देशको भविष्य निर्धारण हुने भएकाले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन आफूहरू राप्रपामा समाहित भएको बताएका छन् ।

कार्यक्रममा राप्रपाका नेताहरू चन्द्रबहादुर गुरुङ, सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सहायक प्रवक्ता पूर्ण चन्द, केन्द्रीय सदस्यहरू तीर्थराज चटौत, हिक्मत सिंह भण्डारी, गणेश विष्ट लगायतको उपस्थिति रहेको थियो । राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङले छिट्टै अर्को चरणको पार्टी प्रवेश गराउने र कैलालीमा राप्रपालाई बलियो शक्तिको रूपमा उभ्याउने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *