कांग्रेससँग ‘बार्गेनिङ्ग’ गर्न समाजवादी केन्द्रकाे बहस झिकिएको हो ?

काठमाडौँ । बुधबार वीरगञ्ज पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने— नेपाली कांग्रेससँग बार्गेनिङ्ग गर्नका लागि वाम गठबन्धन (समाजवादी केन्द्र) को बहस निकालियो ।

हुन त एउटा कोणबाट हेर्दा शेखरको भनाइलाई नकार्न सकिँदैन । अवस्था झन्डै त्यस्तै पनि छ/लाग्छ । पाँचदलीय गठबन्धनमा रहेका दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), डा. बाबुराम भट्टराईको निर्माणाधीन पार्टी नेपाल समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको नेकपा एकता अभियान मिलेर समाजवादी केन्द्र बनाउने प्रयास जारी छ । यता सरकार पाँचदलीय गठबन्धनकै छ । तैपनि गठबन्धनमा रहेका वामपन्थी दलहरू अर्कै उप-गठबन्धन अर्थात् समाजवादी केन्द्र बनाउने कसरतमा छन् । उनीहरूले एमालेबाहेक वामपन्थी दलहरूलाई समेट्दै अगाडि बढ्ने बताएका छन् । यसबारे शीर्षस्थ नेताहरूबीच एक तहसम्मकाे सहमतिसमेत भइसकेकाे छ ।

कांग्रेससहितको गठबन्धन चलिरहेकै अवस्थामा त्यहीँ रहेका वामपन्थी दलहरूले छुट्टै गठबन्धन/समाजवादी केन्द्र बनाउन खाेज्नुलाई विशेषरूपमै हेरिएकाे छ । यसकाे पटाक्षेप आसन्न निर्वाचनमा कस्ताे देखिन्छ भन्ने छँदैछ । कतिपयले त आसन्न निर्वाचनसम्ममा समीकरणसमेत फेरिने बताउँछन् । संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मात्रै एक कित्तामा उभिएका फरक राजनीतिक बाटो र सिद्धान्त अँगालेका ५ दलहरूका अबकाे राजनीतिक कदमले पनि यसलाई निर्धारण गर्ला ।

अब पुन: विषयमा फर्काैँ । जे हाेस् यी उल्लिखित सन्दर्भ र अवस्थाहरू पनि वर्तमान गठबन्धनसामू छ । यस्तो अवस्थामा के नेता शेखरले भनेजस्तै अवस्था पनि छ वर्तमान गठबन्धनमा ? अर्थात् वर्तमान गठबन्धनमा रहेका दलहरूले आसन्न निर्वाचनलाई केन्द्रित गरेर बार्गेनिङ्ग गर्नका लागि समाजवादी केन्द्रकाे बहस झिकेका हुन् त ? आउनुस् यसबारे केही चर्चा गराैँ ।

०००

समाजवादी केन्द्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे चाहनामा बनाउन लागिएकाे बताइन्छ । आसन्न निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने भद्र सहमति बनेकाे सूत्रहरू बताउँछन् । त्यसका लागि सहजरूपमा बार्गेनिङ्ग गर्न सकियाेस् भनेर प्रचण्डले समाजवादी केन्द्रकाे पक्षमा वकालत गरिरहेकाे माओवादी नेताहरू नै बताउँछन् । माओवादी केन्द्रका एक नेताले मकालुखबरसँग स्वीकारेका छन्, ‘समाजवादी केन्द्र उहाँ (प्रचण्ड) कै चाहनामा बनाइएकाे हाे ।’

माओवादी केन्द्रकै स्थायी समिति सदस्य लीलामणि पोखरेल भने बार्गेनिङ्गका लागि समाजवादी केन्द्र नभएकाे जिकिर गर्छन् । ‘याे मुलुककाे आवश्यकता र जनताकाे मागअनुसार गर्न खाेजिएकाे हाे,’ उनले भनेका छन्, ‘कांग्रेससँग बार्गेनिङ्ग गरेर गर्नेचाहिँ के हाे र ? समाजवादी केन्द्रकाे बहस गर्नेमात्रै हाेइन बनाउने नै हाे ।’

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडा समाजवादी केन्द्र निर्माणको बहस शीर्ष तहमा रहेकाे तर, बन्ने नै बताउँछन् । ‘अहिले शीर्ष तहमा छलफल चलिरहेको छ । यसका लागि पर्याप्त बहस गर्नुपर्छ भन्ने हाम्राे भनाइ हाे । संवाद गर्ने समय बाँकी भएकाले यसबारे हतार गरिहाल्नुपर्ने आवश्यकता छैन । वाम एकता पक्षधरले यसलाई छलफलमा ल्याएजस्तो लाग्छ तर अहिले टुंगोमा पुग्ने अवस्था छैन । तर नेताहरूलाई सुन्दाखेरी यसले सार्थकता भने पाउँछजस्ताे लाग्छ, बन्छ नै,’ उनले भनेका छन् ।

पछिल्लाे स्थानीय तह सदस्यकाे निर्वाचनमा कांग्रेससँग नराम्राेसँग चिढिएकाे एकीकृत समाजवादी आसन्न निर्वाचनमा जसरी भएपनि कांग्रेसलाई तह लगाउने पक्षमा छ । यसाे हुँदा पनि समाजवादी केन्द्र बनाउने कसरतमा एकीकृत समाजवादीले पनि अपनत्वबाेध गरेकाे देखिन्छ । अत: अध्यक्ष माधवकुमार नेपाल पनि समाजवादी केन्द्र निर्माणमा सहमत भइसकेका छन् । यसअघि प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितकाे भेटमा अध्यक्ष नेपालले सहमति जनाइसकेका छन् । ‘उहाँ (माधव नेपाल) सहमत भइसक्नुभएकाे छ र याे आजकाे आवश्यकता पनि हाे,’ एकीकृत समाजवादीकै एक नेताले प्रष्टसँग भनेका छन् ।

तर नेता शेखरले भनेजस्ताे बार्गेनिङ्गकै लागि समाजवादी केन्द्रकाे प्रयास भने नभएकाे जिकिर ती नेताकाे छ, भन्छन्— ‘याे खालि बहस गरेर छाेड्ने विषय हाेइन । बहस-वार्ता गरेर बनाउने नै हाे समाजवादी केन्द्र । त्याेचाहिँ पछि देखिन्छ ।’

बाबुराम भट्टराईनिकट नेता महेन्द्रराय यादव समाजवादी केन्द्र निर्माण हुनेमा ढुक्क छन् । मकालुखबरसँग उनले भनेका छन्, ‘हाम्राे नेता बाबुरामजीले नै प्रस्ताव गर्नुभएकाे समाजवादी केन्द्र निर्माण त हाम्राे प्राथमिकतामै छ । अरु धेरै कुराचाहिँ बाबुरामजीलाई नै साेध्नुस् । समाजवादी केन्द्रचाहिँ बन्छ नै ।’

जनता समाजवादी केन्द्र (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग अघाएर पार्टीबाट बाहिरिएका बाबुरामले नेपाल समाजवादी पार्टी (नेसपा) निर्माण गर्दैछन् । साेही पार्टीमार्फत् समाजवादी केन्द्रमा भाग खाेज्ने तयारीमा उनी देखिन्छन् । पूर्वमाओवादी ‘लिगेसी’ बाेकेका उनले वामपन्थ नै छाेडेकाे घाेषणा गर्दै वैकल्पिक राजनीतिकाे रटान लगाउन शुरू गरेका उनी पुन: वामपन्थकै वरपर आइपुगेका छन् । समाजवादी केन्द्र बनाउने विषयमा उनले सहमति जनाइसकेका छन् । नेत यादवले भने, ‘बाबुरामजीकाे सहमति नै छ त्यसमा ।’

बार्गेनिङ्ग गर्नका लागि भने समाजवादी केन्द्र नबनाइएकाे जिकिर नेता यादवकाे छ । ‘बनाउनलाई बहस गरिँदैछ । बार्गेनिङ्ग गर्नलाई हाेइन ।’

वामदेव गाैतम नेतृत्वकाे नेकपा एकता अभियानसमेत समाजवादी केन्द्रमा रहनेछ । गाैतम यसका लागि दाैडधुपमा समेत छन् । अभियानका नेता/कार्यकर्ताहरूसमेत अध्यक्ष गाैतमकाे कदमसँग सन्तुष्ट छन् । एक केन्द्रीय समिति सदस्यले भनेका छन्, ‘उहाँ (वामदेव) ले भन्नुभएकाे कुरामा हामी सहमत छाैँ र वामपन्थीहरूकाे ध्रुवीकरणचाहिँ आवश्यक नै छ । हामीले त यही भनेर स्थापित भएका पनि हाैँ । हामीले त वामपन्थीहरूजत्ति सबै एकठाउँमा हाैँ भन्ने लाग्छ । हाम्राे पार्टीकाे मुख्य एजेन्डा नै पनि यही नै हाे ।’

ती नेता आवश्कयताले समाजवादी केन्द्र निर्माण गर्न लागिएकाे बताउँछन् । ‘याेचाहिँ आवश्यकता महसुस भएरै बनाउन लागिएकाे हाे । तपाईंले शेखरजीकाे कुरा गर्नुभयाे । उहाँले भनेजस्ताे हाेइन पनि र उहाँकाे अभिव्यक्तिबाट काेही पनि तर्सिनु पनि पर्दैन,’ ती नेताले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *