समाजवादी अर्थतन्त्र निर्माणमा राससबाट सहयोग हुने विश्वास लिएको छु : मन्त्री मेटमणि चौधरी

काठमाडाैं । शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति रासस को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्नुहुँदै उहाँले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताए ।
‘संविधानको संस्थागत विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पनि राससजस्ता संस्थाका माध्यमबाट सहयोग पुग्छ, समाजवादी अर्थतन्त्र निर्माणमा पनि राससबाट सहयोग हुने विश्वास लिएको छु’ मन्त्री चौधरीले भने ।
।
विसं २०७२ वैशाख १२ एवं २९ गतेको ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो । प्रधानमन्त्री देउवाले नै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति नेसस र सगरमाथा संवाद समिति ससस एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति रासस को स्थापना भएको हो ।
राष्ट्रिय समाचार समिति ऐन, २०२८ अनुसार राष्ट्रिय संवाद समिति समाचार समितिमा परिणत भएको हो । राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै विसं २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ ।
राससले मूलधारका सबैजसो पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरूलाई समाचार सेवा प्रदान गर्दै आएको छ । राससले यही साउन १ गतेदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेको छ ।








