जनार्दन शर्मा प्रकरण : संसदीय छानबिन समितिले भाेलि प्रतिवेदन बनाउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले बुधबार प्रतिवेदन तयार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सिसिटिभी फुटेजका बारेमा जानकारी लिएपछि बुधबार प्रतिवेदन लेख्ने तयारी गरेको हो ।
सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए ।
बुधबार बस्ने बैठकमा यस विषयमा पुन छलफल हुने र साथसाथै प्रतिवेदनमा पनि लेखिने उनले जानकारी दिए । उनले अब समितिको म्याद थप गर्न पहल नगरिने समेत स्पष्ट पारे ।
सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।








