कारागार व्यवस्थापन विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनि मतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे । सभाको पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो ।
यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले भाग दिएका थिए । उनीहरू उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले कारागार नरहेका जिल्लाहरूमा पनि कारागारको व्यवस्था गरिने बताए । सहरका मध्य भागमा रहेका पुराना कारागारहरूलाई स्थानान्तरण गरी फराकिलो र सुविधाजनक बनाइने उनको भनाई छ ।
कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।








