माधव नेपाल र नारायणकाजीले कांग्रेसलाई थर्काउनुको रहस्य !

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको तिखो आलोचना गर्न थालेका छन् । माधव नेपालका अभिव्यक्ति हिजोआज नेपाली कांग्रेसमाथि खनिएको छ । उनका अभिव्यक्ति हिजोआज एमालेप्रति नरम हुन थालेका छन् ।

अध्यक्ष नेपालले केही दिनअघि एक कार्यक्रममा एमालेले आफ्नो पार्टीप्रति बढी आक्रमण नगरेकाले आफूले पनि नगर्ने बताएका थिए । उनका अभिव्यक्तिले नेपाली कांग्रेससमेत झस्केको छ । केही दिनअघि एक अन्तर्वार्तामा अध्यक्ष नेपालले कांग्रेसको केन्द्रीय समितिमा एकीकृत समाजवादी पार्टी चुनावमा एक्लै लड्यो भने एक सिट मात्र आउँछ भन्ने विषयमा चर्चा भएकोमा दुःख मनाउ गरेका थिए । अध्यक्ष नेपालले अन्तर्वार्तामा कांग्रेसले हेप्न थालेको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष नेपालले नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै फेरि नेपाली कांग्रेसमाथि खनिए । अध्यक्ष नेपालले भने, ‘निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

पछिल्ला माधव नेपालको अभिव्यक्ति एमालेप्रति नरम र कांग्रेसप्रति कडा आइरहेका छन् । यसले आगामी चुनावमा पाँच दलीय गठबन्धन एक ढिक्का भएर अघि नबढ्ने अवस्था सिर्जना हुन थालेको देखिन्छ । नेकपा एकीकृत समाजवादीका एक नेताका अनुसार कांग्रेसले एकीकृत समाजवादीलाई हेप्न थालेको आभाष भएको छ ।

ती नेताले भने, ‘हामीसँग तालमेल गरेर कांग्रेस ठूलो पार्टी बनेको उसले बिर्सेर हाम्रो पार्टीलाई एक्लै लडे ‘एकसिटे’ भन्दा बढी जित्दैन भन्दै हिँड्नु कति जायज हो ?’ उनले कांग्रेसले हाम्रो पार्टीप्रति गम्भीर नबनिरहेको हुनाले अध्यक्ष नेपालले कांग्रेसप्रति कडा अभिव्यक्ति आएको हुन सक्ने बताए ।

एसका अध्यक्ष नेपालले मात्र होइन, पछिल्लो समय नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समेत कांग्रेसको कडा आलोचना गर्न थालेका छन् ।

नेता श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफती गरेको आरोप लगाए । उनले कांग्रेसले बलजफती गरे सधैँ स्वीकार्य नहुने चेतावनी दिए । आफ्नो फेसबुक पेजमा लेख्दै नेता श्रेष्ठले गठबन्धन सरकार र भोट आफूहरूका लागि साध्य नभएको पनि जनाए ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफती हामीलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान बुझोस् ।हाम्रो पार्टीले गठबन्धन सकारको नाममा सबै राष्ट्रिय मुद्दाहरूमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ। गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन’ श्रेष्ठले फेसबुकमा भनेका छन् ।

गठबन्धनका नेताहरू नै पछिल्लो समय नेपाली कांग्रेसप्रति कडा अभिव्यक्ति दिन थालेका छन् । पछिल्लो समय कांग्रेसले गठबन्धनमा आफूलाई १०० सिट चाहिन्छ भनेर दाबी गर्न थालेपछि गठबन्धनका नेताहरूले कांग्रेसले हेप्न थालेको अभिव्यक्ति दिन थालेका हुन् ।

एकातिर बाम तालमेलको चर्चा उचाइमा पुगिरहँदा नेताहरुको कांग्रेसमाथि आएको कडा अभिव्यक्तिले अहिलेको गठबन्धन चुनावमा पनि कायमै रहन्छ भन्ने धेरै आशङ्काहरू जन्मेका छन् । कांग्रेसमाथि एकीकृत समाजवाद र माओवादी केन्द्रलाई आत्मसाथ गरेर बोक्ने नसकेको आरोप लागेको छ भने अर्कोतिर बाम तालमेल गरेर चुनावमा जाने भन्ने चर्चा चुलिएको छ ।

एमाले एक नेताका अनुसार कांग्रेसलाई साइजमा राख्न माधव नेपाल र नारायणकाजी श्रेष्ठको यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताए । उनले भने, ‘एमालेसँग बाम तालमेलको कुनै छलफल भएको छैन, कांग्रेसको पुच्छर भएर बाम तालमेल हुन पनि सक्दैन । होला उनीहरूले कांग्रेसबाट धेरै भाग लिन खोजे होलान्, जसका कारण यस्तो अभिव्यक्ति आएको हुनसक्छ ।’ ती नेताले उनीहरूको अभिव्यक्तिलाई लिएर आफूले थप टिप्पणी नगर्ने बताए ।

प्रतिक्रिया

One thought on “माधव नेपाल र नारायणकाजीले कांग्रेसलाई थर्काउनुको रहस्य !

  1. यो सब चुतीयागिरी हो। फेरी बिदेशी दलालहरूको devide and rule को अर्को श्रृङ्खला मात्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =