कांग्रेसकाे संस्थापन पक्षले दियाे युनियन अध्यक्षको टिकट अनिता बिन्दुलाई

काठमाडाैँ । नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ । नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी उनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो ।
अध्यक्षका अर्का आकांक्षी सरोजराज अधिकारी भने वरिष्ठ उपाध्यक्षमा उठ्नेछन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा चित्त बुझाउनुपर्ने अवस्था देखिएकाे छ भने महासचिवमा दाबी गरेका केशव सावद उपमहासचिवमा लड्दैछन् । अन्य पदाधिकारीहरूबारे छलफल भइरहेकाे छ ।
अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।
०००
संस्थापनइतर पक्षले अध्यक्षकाे टिकट शिव लम्साललाई दिनेबारे छलफल गरिरहेकाे छ । तर दीपक आचार्य पनि अध्यक्षकै दाैडमा छन् । महासचिवमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले दौडमा छन् । यसैगरी उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन् ।
काेषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा व्यक्त गरेका छन् भने सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनारलगायतले दाैडमा छन् ।
यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो । संस्थापनले अध्यक्ष र इतरले महासचिव लिनेगरी छलफल भएको थियो । तर सहमति भएन । यसपछि हेटौँडामा आगामी ६ र ७ गते हुने महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ ।








