भानु जयन्तीमा राष्ट्रियस्तरको कविता प्रतियोगिता : रामेछापका परियार प्रथम

दमौली । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज आयोजित राष्ट्रियस्तरको कविता प्रतियोगितामा रामेछापका विक्रमपवन परियार प्रथम भएका छन्।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको कविता प्रतियोगितामा २४० अङ्क प्राप्त गरी परियार प्रथम भएका हुन् । प्रतियोगितामा उनले ‘सूर्यमुखी फूल’ शीर्षकमा कविता वाचन गरेका थिए।

प्रतियोगितामा पर्वतका तारानाथ पराजुली २३८ अङ्क प्राप्त गरी द्वितीयभएक छन् । उनले ‘नजन्माइएका छोरीहरु’ शीर्षकमा कविता वाचन गरेका थिए ।

पर्वतकै लक्ष्मीदेव गौडेल २३६ अङ्क प्राप्त गरी तृतीय भएका छन् । उनले ‘प्रिय कविको सम्झनामा’ शीर्षकमा कविता वाचन गरेका थिए ।

अछामका मीनप्रसाद पाण्डे २३५ अङ्कसहित सान्त्वना प्राप्त गरे । उनले ‘मुजारे गुराँस’ शीर्षकमा कविता वाचन गरेका थिए । मोरङका केशव भण्डारी कञ्चन २३१ अङ्क प्राप्त गरी सान्त्वना प्राप्त गरेका छन् । उनले ‘देश छाड्नुअघि’ शीर्षकमा कविता वाचन गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका १५ कविको सहभागिता रहेको थियो । पैँतीस जिल्लाबाट ११२ कविता प्राप्त भएकामा प्रतियोगिताका लागि १५ कविता छनोट गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजार प्रदान गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक डा शङ्कर रानाभाटले जानकारी दिए । पुरस्कार वितरण भोलि भानु जयन्तीको अवसरमा गरिनेछ ।

प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेल संयोजक रहेका थिए । सदस्यमा प्राज्ञ धीरेन्द्र प्रेमर्षी र डा विन्दु शर्मा रहेका थिए ।

यसैगरी भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुस्मिता तिमिल्सिना प्रथम, मधुकला आचार्य द्वितीय, सञ्जय श्रेष्ठ तृतीय, विदुर खनाल र केशवप्रकृति तिमिल्सिना सान्त्वना भएका छन्।

विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा अभिप्सा सापकोटा प्रथम, आयुष आचार्य द्वितीय, आशीर्वाद कट्टेल तृतीय, वीनाभक्त नेपाली र विनिषा श्रेष्ठ सान्त्वना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *