लेखक तथा पत्रकार सङ्गीत स्रोतामाथि यौन दुर्व्यवहारकाे आरोप

काठमाडाैँ । लेखक तथा पत्रकार सङ्गीत स्राेतामाथि याैन दुर्व्यवहारकाे आराेप लागेकाे छ । अर्का लेखक सरिता तिवारीले स्राेतामाथि याैन दुर्व्यवहारकाे आराेप लगाएकी हुन् । सरिताले शनिवार साँझ फेसबूकमा सवा दुई घण्टा ‘लाइभ’ बसेर आफूमाथि स्राेताबाट दुर्व्यवहार भएको दाबी गरेकी छन् । ‘मैले सत्य-सत्य बताइरहेकी छु,’ त्यसक्रममा उनले भनेकी छन्, ‘मैले लाइभ बस्नुभन्दा पहिले मेराे छाेराछाेरीदेखि मेराे श्रीमान् र आमासमेतलाई यसबारे बताइसकेकी छु । मैले झुटाे बताइरहेकी भए मेराे सन्तान नाश हाेस् भनेर भनेकी छु ।’

यसबारेकाे पहिलाे समाचार शुक्रबार राति साहित्यपाेस्टमा प्रकाशित भएकाे थियाे । स्राेताले उक्त समाचारकाे खण्डन आफ्नाे फेसबूकमा लेखेका छन् । त्यसपछि उक्त खण्डनकाे प्रतिखण्डनमा सरिता लाइभ आएकी हुन् । ‘महिलामाथि हुने कुनै पनि प्रकारका शोषण, हिंसा, विभेद र उत्पीडनका विरुद्धमा म सधैँ प्रतबद्ध छु र यस्ता आरोप र चरित्रहत्या–प्रयासका बाबजुद पनि सो मान्यताबाट म विचलित हुने छैन,’ स्राेताले आफ्नाे खण्डनमा भनेका छन् ।

सरिताले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि स्राेताकाे कीर्तिपुरस्थित डेरामा गएका बखत दुर्व्यवहार गरेको दाबी गरेकी छन् । दुर्व्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको उनकाे प्रष्टीकरण छ । यो विषयमा केही समयअघि सरिताले स्राेता आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन्  । यसकाे परपुष्टि संस्थाका कार्यवाहक संयोजक प्रमोद धितालले शनिवार विज्ञप्ति जारी गर्दै गरेका छन् । उनले गत असार ९ मा संस्थामा त्यससम्बन्धी उजुरी परेकाे खुलाएका छन् । धिमालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘उजुरीकर्ता आफैँले अग्रसरता लिइ उहाँले नै चयन गरेको न्यायिक प्रक्रियाबाट यो आरोपसम्बन्धी मुद्दा टुंगो लागिसकेको उहाँ स्वयम्‌ले हामीलाई जानकारी गराउनुभएको छ ।’

सरिताले त्यसअघि नै पनि आफूले संस्थाका सदस्यहरूसँग माैखिक उजुरी दिएकाे बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *