चित्लाङ : प्रकृतिभित्रकी एउटी ‘बेहुली’ !

काठमाडौँ । जता हेर्‍यो, त्यतै हरियो । वरिपरि मनलाई चङ्गा बनाउने हरिया डाँडाहरू । नासपातीको बोटैबोट । भर्खर बतिला लाग्न थालेका । सल्ला र कटुसका बोटले जोकोहीलाई मोहनी लगाउने । हरिया डाँडाभरि स्थानीयले बाख्रा चराइरहेका । डाँडै हरियो, मनै हरियो ।

वर्णन गर्न नसकिने । कस्तो मन बहलाउने ठाउँ । काठमाडौँको धुँवाधुलो, जाम भिडभाड र कोलाहलको उकुसमुकुसबाट पिल्सेको यो मनलाई चित्लाङमा डाँडाकाँडामा दोहोर्‍याउँदा आनन्दको अनुभूति नलिने को नै होला र ?

मकवानपुरको थाहा नगरपालिकामा पर्ने रमणीय पर्यटकीय गाउँ चित्लाङमा काठमाडौँबाट जानेहरूको समूह बाक्लो हुँदोरहेछ । कोही गाडी रिजर्भ गरेर त कोही मोटरसाइकलमा हुइँकेर चित्लाङ पुग्दारहेछन् । काठमाडौँको उकुसमुकुसबाट केही समय जीवनलाई फुरुङ्ग दसैँको चङ्गा बनाऔँ भन्नेहरूलाई चित्लाङ उपयुक्त गन्तव्य रहेछ ।

असारे झरीमा पनि चित्लाङका होटल रेष्टुराँहरु भरिएका थिए । समूह समूह बनेर त्यहाँको स्थानीय होटलमा नाचगान गर्नेहरूको समूह बाक्लो थियो । होटल पनि त्यहाँको मौलिक संस्कृति झल्काउने खालको । त्यहाँका जातजातिको संस्कृति सम्झाउने खालको । मनलाई मोहित बनाउने ।

रातको समयमा बिचमा आगो बालेर वरिपरि त्यही आगोलाई घेरेर विभिन्न किसिमका चुस्की र थरिथरिका मासुको स्वाद लिँदा त चित्लाङले यो चित्तलाई छमछमी मजुरझैँ नचाउनेरहेछ । चित्लाङको यति वर्णन गरेपछि काठमाडौँबाट चित्लाङ कति दूरीमा पर्छ, कसरी जाने, सडक कस्तो छ, होमस्टे र रिसोर्टहरु कस्ता छन्, यस्ता कुरामा जोकोहीलाई खुल्दुली लागेको होला ।

आउनुहोस्, यो विषयमा केही वर्णन गरौँ ।

चित्लाङ किन जाने ?
‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो,’ कुन सामग्रीले पूजा गर्ने ? साथ कसरी लाने हो ?’ यो गीत अहिले पनि हामी सबैको मनमुटुमा बसेको छ ।

रविन शर्माले गाएको यो कालजयी गीत महाकवि लक्ष्मीप्रसाद देवकोटाले १९९८ सालमा चित्लाङमै बसेर लेखेका हुन् भन्ने भनाइ छ । चन्द्रागिरिबाट मकवानपुर झर्दा पहिलो धाराको रूपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउँदै देवकोटाले यो गीत लेखेका हुन् ।

पशुपति दर्शनका लागि भारतबाट अर्को व्यक्तिको काँधका चढेर आएका तीर्थयात्रीलाई देखेपछि देवकोटालाई यो गीत फुरेको भनाइ छ । महाकवि देवकोटाले धारामा पानी पिएर थकाइ मारेर बसेको भनिएको ढुंगा अझै त्यहीँ छ । चित्लाङ जाँदा त्यही ढुंगाले सबैलाई स्वागत गर्छ ।
चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् ।

लिच्छवीकलादेखि नै काठमाडौँबाट तराईतर्फ लाग्ने यात्रुहरू चन्द्रागिरि डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्थे । भनिन्छ, प्राचीन कालमा चित्लाङ राजा अंशु बर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो । प्रकृतिभित्रकी एउटी ‘बेहुली’ हुन् चित्लाङ । चाहे प्राकृतिक दृश्य होस् वा ऐतिहासिक विशेषता । भरिपूर्ण छ चित्लाङ ।

गाउँ नै गाउँले भरिएको ठाउँ । प्राकृतिक रूपमा त सुन्दर छँदैछ, इतिहासका धेरै अक्षरमा चित्लाङ सजिएको पनि छ । सुन्दरतामात्र होइन, चित्लाङमा ऐतिहासिक किल्लाहरू पनि छन् । होमस्टेमा घरेलु परिकारको आनन्द बेग्लै । नासपती र सगुनको रक्सीले स्वागत गर्ने परम्परा ।
आहा ! कति स्वादिलो त्यहाँको लोकल रक्सी । चित्लाङमै उत्पादित ट्राउट माछा र लोकल बाख्राको दूधबाट उत्पादित चिजको स्वादमा यो मन हरर हुन्छ । उत्कृष्ट होमस्टेको बसाइँले त मनमनै संसार बनाउँछ ।

राणाकालमा भीमफेदीबाट चित्लाङ हुँदै काठमाडौँमा राणाहरूका भाँडा र गाडी बोकेको इतिहास चित्लाङका स्थानीयले सुनाउँदा त्यहाँको ऐतिहासिक धरोधरको सम्झाउन गराउँछ । २०६८ सालबाट चित्लाङ चम्केको हो । सुरुमा स्थापना गरिएका चार वटा होमस्टेले चित्लाङलाई देशमा मात्र होइन, विदेशमा पनि चम्काएको छ । काठमाडौँको धुँवाधुलो छल्नमात्र होइन, विदेशबाट चित्लाङको डाँडामा रमाउन विदेशी पर्यटकहरू चित्लाङ आउँछन् ।

फुर्सदिलो समय कम छ, त्यसैले घुम्नका लागि छोटो दूरीको मनोरम पर्यटकीय स्थल खोज्दै हुनुहुन्छ भने चित्लाङ तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।

कसरी पुग्ने चित्लाङ, कति लाग्छ खर्च ?
चित्लाङ जान त्यति गाह्रो छैन । काठमाडौँबाट तपाईं मोटरसाइकलमा पनि चित्लाङ जान सक्नुहुन्छ । अथवा समूह भएर बसमा पनि चित्लाङ जान सकिन्छ । चित्लाङको होमस्टेसम्मै गाडी पुग्छ ।

काठमाडौँबाट थानकोट आएर गाडी रिजर्भ गरेर चित्लाङ जान सकिन्छ । थानकोटको चेकपोष्टबाट करिब डेढ किलोमिटर बायाँतिर गएपछि केबुलकारको बेस स्टेसन पुगिन्छ । केबुलकारबाट चन्द्रागिरि पुगी चिसो र शान्त वातावरणले मन आनन्दित बनाउँदै घना र हरियाली वनको बाटोबाट २ घण्टामा पदयात्रा गरेर पनि चित्लाङ चित्लाङ ।

अर्को बाटो थानकोटबाट गाडी चढेर सीधै चित्लाङ पुगिन्छ । चित्लाङबाट जंगलको बाटो हुँदै करिब साढे दुई घण्टामा चन्द्रागिरि पनि पुग्न सकिन्छ । चित्लाङ काठमाडौँ उपत्यकादेखि करिब १९ किलोमिटर दक्षिण पश्चिम मकवानपुरको थाहा नगरपालिकामा पर्छ ।

बाटो घुमाउरो र डाँडाकाँडाहरू छिचोल्दै जानुपर्ने भएकाले थानकोटबाट डेढ घण्टामा गाडीले चित्लाङ पुर्‍याउँछ । बाटो असहज भएका कारण सोही रोडमा चलेका गाडीहरू रिजर्भ गरेर लैजाँदा राम्रो हुन्छ ।

काठमाडौँबाट चित्लाङ निकै सस्तो गन्तव्य हो । समूहमा गाडी रिजर्भ गरेर जाँदा सामान्यतः एक व्यक्तिको ५ हजार खर्चमा चित्लाङमा एक दिनको बसाइँ हुन्छ, तर बढी खर्च भएको खण्डमा यतिले नपुग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *