नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सञ्चालनका लागि समिति गठन

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ ।
शुक्रवार काठमाडौँ बसेको मूल आयोजक समितिको बैठकले राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको हो । समितिमा प्रशासकीय प्रमुख, परिषद्का सदस्य मध्यबाट अध्यक्षले मनोनयन गरेका कम्तीमा एक जना महिला सहित दुई जना, परिषद्का विभागीय प्रमुखहरू र संयोजकले तोकको परिषद्को कर्मचारी समितिको सदस्य सचिव हुनेछन् ।
बैठकले आवश्यकता अनुसार विभिन्न विषयगत समिति गठनका लागि कार्यकारी समितिलाई निर्देशन दिएको छ । बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुने स्पष्ट पारे ।
प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्ने उनको भनाई छ । उनले प्रतियोगिताका लागि पूर्वाधार लगायत अन्य तयारीमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।
त्यस्तै, बैठकमा राखेपका सदस्य सचिव घिसिङले प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएको जानकारी दिए ।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यस अघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो । तर विभिन्न कारण देखाउँदा प्रतियोगिता सारिएको थियो ।








