शिन्जो आबेमाथि हानिएको थियो २ वटा गोली, को हुन् आक्रमणकारी ?

टोकियो । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार गर्ने व्यक्ति पूर्व जलसेनाका जवान भएकाे खुलेकाे छ ।

पश्चिमी जापानको नारा सहरमा शुक्रवार सडकमा भाषण गरिरहेका आबेमाथि उनले गाेली प्रहार गरेका हुन् । आक्रमणकारी करिब ४० वर्षका छन्।

गोली लागेपछि आबे भुइँमा ढलेका थिए । आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।

आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए । आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए।

शिन्जो आबेले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हानेका थिए । दोस्रो गोली लागेपछि आबे भुइँमा ढलेका थिए । त्यसपछि कार्यक्रममा उपस्थित मानिसहरूले उनलाई सीपीआर दिने प्रयास गरे। आबे हाल अस्पतालमा भर्ना छन्।

आक्रमणकारीले गोली हानेपछि पनि भाग्ने प्रयास गरेनन्। गोली हानेपछि उनी त्यहीँ ठाउँमा उभिइरहे। त्यसपछि नजिकैका मानिसहरुले उनलाई प्रहरीसमक्ष बुझाए।

उनले किन यस्तो गरे भन्ने अहिलेसम्म खुलेको छैन। हाल प्रहरीले आक्रमणकारीलाई किन यस्तो गरेको हो भन्ने बारे सोधपुछ गरिरहेको छ। यससँगै घटनाको सबै कोणबाट अनुसन्धान थालिएको छ।

आबेले २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीमा उनी अझै धेरै प्रभावशाली छन् । आबे आइतबार संसदको माथिल्लो सदनका लागि हुने चुनाव प्रचार गर्दै थिए । उनी सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए। उनी सन् २००६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए तर एक वर्षभित्रै राजीनामा दिनुपरेको थियो । उनले सन् २०२० मा पनि अस्वस्थताका कारण प्रधानमन्त्री पद त्यागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =