रवि लामिछानेको पार्टी रास्वपाको पहिलो जिल्ला भेला चितवनमा

चितवन । पूर्वसञ्चारकर्मी रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला भेला चितवनमा हुने भएको छ । लामिछानेले फेसबुकमा भिडियो सन्देश जारी गर्दै चितवनको हाकिमचोकस्थित सिएमटी रिसोर्टमा यही असार २५ गते जिल्ला भेला आयोजना गरेको जनाएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘जीवनको कठोर समयमा चितवनले मलाई सत्कर्मका लागि बाटो देखायो। फलामे जन्जिर चिरेर बाहिरको संसारमा पखेटा फिँजाउन सिकायो । चितवनले एकपटक फेरि मलाई उड्न पखेटा दिनेछ ।’

भिडियोमा लामिछानेले चितवनप्रति ठूलो विश्वास लागेको आशयका साथ आफ्नो प्रस्तुति दिएका छन् । चितवनमै किन पहिलो भेला गर्न लागेका हुन् यस विषयमा पनि उनले भिडियोमा प्रस्ट पारेका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘त्यही चितवन हो मैले आफू हुनुको अर्थ थाहा पाएँ । जहाँ मैले आफूभित्रको संसार पनि थाहा पाएँ । म सम्झन्छु देशभरिबाट चितवन आएको त्यो मानव सागर । आशा र भरोसाका एक–एक थोपा मिसिएर बनेको त्यो एक मानव सागर नै त थियो ।’

पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा रवि लामिछानेमाथि दुरुत्साहनको मुद्दा लागेको थियो । लामिछाने दुरुत्साहनको मुद्दा खेपेर केही दिन चितवनको प्रहरी हिरासतमा बसेका बेला उनको रिहाइको लागि चितवनमा ठूलो मानव सागर उर्लिएको थियो ।

चितवनले त्यतिबेला रविको रिहाइको लागि ठूलो दबाब सिर्जना गरेका कारण पनि उनले चितवनमा नै पहिलो जिल्ला भेला आयोजना गरेका उनीनिकट रहेका कार्यकर्ताहरूको भनाइ छ । रविले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =