विप्लवकाे टिप्पणी- अरु पार्टीमा जानुकाे औचित्य छैन, ती काैडीकाे मूल्य बराबर पनि छैनन्

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूकाे आन्दाेलन जारी रहेकाे बताएका छन् । बुधबार पार्टी नेता/कार्यकर्ताहरूलाई स्वागत गर्दै उनले यस्ताे बताएका हुन् । ‘हाम्राे आन्दाेलन जारी छ, सकिएकाे छैन,’ उनले भने, ‘कतिपयले यसलाई सकिएकाे भनेर भनेका छन् । त्यसाे हाेइन, हामी आन्दाेलनमै छाैँ ।’
उनले आफ्नाे दलबाट बाहिरिने कुरा र आफ्नाे पार्टीमा प्रवेश गर्ने कुरा एउटै नभएकाे जिकिर गरेका छन् । ‘हामीसँग के छ ? तपाईंहरू भन्नूस् त, हामीसँगै हिजाे रहेका साथीहरू काेही सत्तामा छन् । काेही मन्त्री छन् । उनीहरूसँग पैसा छ, शक्ति छ । हामीसँग के छ ? काेही छैन । मलाई कहिलेकाहीँ लाग्छ— हाम्राे पार्टीमा आउने कमरेडहरूले के देखेर आउनुहुन्छ ? यहाँबाट जानेहरूले त पैसा देखेर जान्छन्, सत्ता देखेर जानुहुन्छ । म के ठान्छु भने क्रान्तिबाट भयवित मान्छेहरू जान्छन् । त्यसाे भएकाे हुनाले हाम्राे पार्टीमा आउनु र यहाँबाट जानु एउटै हाेइन,’ उनले भनेका छन् ।
उनले अरु पार्टीकाे कुनै औचित्य नरहेकाे पनि बताएका छन् । ‘अरु पार्टीमा जानु र प्रवेश गर्नुकाे कुनै औचित्य छैन,’ उनले भने, ‘ती काैडीकाे मूल्य बराबर पनि छैनन् ।’ उनले कतिपय सहयाेद्धाहरूले जनतालाई मात्रै युद्ध/आन्दाेलनमा छाेडेर भागेकाे आराेप उनकाे छ । यसअघि स्थायी समितिद्वय कञ्चन-सुदर्शनलगायतले विप्लवलाई छाडेका छन् । विप्लवले उनीहरूलाई ‘भगुवा’काे संज्ञासमेत दिए । ‘जसले जनतालाई बलिदानकाे माेर्चामा छाडेर भाग्याे, उनीहरूकाे कुनै मूल्य छैन । उनीहरूले जति ठूलाे डङ्का पिटून्, उनीहरूकाे याे संसारमा कुनै मूल्य छैन ।’








