अर्थमन्त्रीबारे टिप्पणी : कुन नेताले के भने ?

काठमाडौँ । सत्तारुढ दलका नेता होस् वा विपक्षी दलका नेता, अर्थमन्त्री जनार्दन शर्माको पछिल्लो गतिविधिलाई लिएर नेताहरूले आपत्ति प्रकट गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल, नागरिक अगुवाका साथै सत्तारूढ दलका नेता–कार्यकर्तासमेतले अर्थमन्त्री शर्मालाई हटाउन दबाब बढाएका छन् । एमाले नेताहरूले अर्थमन्त्रीको राजीनामा माग गरिरहेका छन् भने सत्तारुढ दलका नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नु अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको खुलासा भएपछि एमालेले त्यो दिनको अर्थ मन्त्रालय भित्रको सिसिटिभी फुटेज मागेको थियो । अर्थमन्त्री शर्माले फुटेज हटाइएको बताएपछि अर्थमन्त्रीको थप आलोचना बढ्दै गएको छ ।

पूर्व मन्त्री डा प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिएर नैतिकताको नयाँ क्रान्ति सुरु गर्न सुझाव दिएका छन् । ‘मलाई लाग्छ कि अब हाम्रा ‘क्रान्तिकारी’ अर्थमन्त्रीले मन्त्रिपरिषद्बाट राजीनामा दिएर सरकारी नैतिकतामा नयाँ ‘क्रान्ति’ सुरु गर्ने बेला आएको छ’ उनले ट्विटरमा भनेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले सिसिटिभी फुटेज नष्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताए ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छानबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन् ।’

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ट्विटरमा लेख्छन् ‘युद्ध सकिएपछि हतियार ‘खोलाले बगायो’ भनेर उन्मुक्ति पाएजस्तै व्यापारीका प्रतिनिधि राखेर करका दर निर्धारण गरेको घटनामा उन्मुक्ति दिन मिल्दैन ।

अर्थमन्त्रीबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ट्विटरमा लेख्छन्, ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकार मात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’

अर्थमन्त्रीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रको बैठकमा पनि प्रश्न उठेको छ । यस विषयमा बैठकमा प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले अर्थमन्त्रीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटासँग छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार आज साँझै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको विषयमा छलफल गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *