असार २२ र २३ गते चितवनमा रोजगार मेला हुने

चितवन । चितवनमा रोजगार मेला हुने भएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुन लागेको हो ।

यही असार २२ र २३ गते हुने २ दिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका १ दर्जन संघसंस्थाको आयोजनामा हुन लागेको हो ।

भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा हुने मेलाले जिल्लामा न्यूनस्तर र मध्यमस्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन । जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिए ।

भरतपुर महानगरपालिका सभाहलमा भएको मेलाको तयारीबारे पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको बताए । चितवन पोल्टी, दूध, माछा, केरा लगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ ।

मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरूको दुरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ । वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकाहरूमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिए ।

मेलामा ६० वटा स्टल रहने छ । जिल्लाका ७ वटा पालिका, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरूको स्टल रहने आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङ्कलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ । मेलामा १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *