किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?

पोखरा । सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार पोखरामा बसोबास गर्ने प्रत्येक नागरिकले दैनिक सरदर करिब आधा केजी फोहोर उत्सर्जन गर्छन् । यस हिसाबले पोखरामा प्रतिदिन १ सय ८८ टन फोहोर निस्किन्छ । यसलाई वार्षिक हिसाब गर्दा ६८ हजार ६ सय २० टन हुन्छ ।

४ वर्षअघिको यो अध्ययनपछि पनि पोखरामा झन् धेरै फोहोर उत्सर्जन हुने अनुमान सजिलै गर्न सकिन्छ । पछिल्लो तथ्यांकअनुसार पोखरामा एक वर्षमा करिब ७ हजार घर थपिएका छन् । ९ हजार ५ सय नयाँ व्यवसाय थालनी भएका छन् । नगरभरि डेढ लाखभन्दा बढी घर छन् । ७० हजार हाराहारीमा व्यवसाय छन् । महानगरपालिकाकै तथ्यांक अनुसार पोखराको जनसङ्ख्या ६ लाख कटिसक्यो । हालसम्म पोखराको फोहोर १४ नम्बर वडाको बाच्छेबुडुवामा थुपार्ने गरिएको छ । अध्ययन अनुसार पोखरामा उत्पादन हुने फोहोरमध्ये ६८ प्रतिशत कुहिने खालको छ । तर कुहिने र नकुहिने सबै फोहोरहरू अहिले ल्यान्डफिल साइटमा लगेर थुपार्ने गरिएको छ ।

अहिले सञ्चालनमा रहेको ल्याण्डफिल तत्कालै सार्नुपर्ने भएको छ । ६ महिनापछि सञ्चालन हुने निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण ल्यान्डफिल नयाँ ठाउँमा सार्नैपर्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलको रनवेबाट ३ किलोमिटर वरपर ल्यान्डफिल साइट राख्न मिल्दैन । तर पोखरामा ल्यान्डफिल साइट निर्माणाधीन विमानस्थलको उडान रुट पर्छ । त्यो पनि रनवेको आडैमा । विमानस्थलबाट जहाज उडाउनुअघि नै ल्यान्डफिल साइट सार्नुपर्ने सर्त छ । त्यसबाहेक उक्त ल्याण्डफिलको आयू पनि सकिएको छ । १५ वर्षका लागि २०६१ सालमा निर्माण गरिएको ल्यान्डफिलको आयु ३ वर्षअघि नै सकियो । तर, सार्ने ठाउँको निक्र्यौल अझै हुन सकेको छैन ।

२ ठाउँमा ल्याण्डफिल सार्न प्रयास गरिएपनि सफल भएन । गत कात्तिक पहिलो साता ल्याण्डफिल साइट पोखरा १६ र २० नम्बर वडाको सीमानास्थित पस्मराङमा सार्न लागिएको थियो । स्थानीयले निरन्तर विरोध गरे । महानगरपालिका आफ्नै निर्णयबाट पछि हट्यो । ५५ औँ कार्यपालिका बैठकबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने अर्को निर्णय भयो । यसअघिका जनप्रतिनिधिको अन्तिम निर्णय अहिले भने विवादित बनेको छ । स्थानीयले भरतपोखरीमा पनि ल्याण्डफिल बन्न नदिने भन्दै आन्दोलन सुरु गरेका छन् । स्थानीय स्तरमा अगुवाहरूको भेला मार्फत ल्याण्डफिल भरतपोखरी ल्याउन नदिने चेतावनी दिएका छन् ।

‘भरतपोखरीमा ल्याण्डफिल सार्न नदिन सबैले दबाब दिएका छन् । सर्वसाधारण र अगुवाहरूको छुट्टाछुट्टै भेला राखेर छलफल गर्दा पनि फोहोर लान दिनुपर्ने आवाज कसैको छैन,’ त्यहाँका स्थानीय तथा अगुवा किरण थापा भन्छन्, ‘महानगरले यो निर्णयबाट पछि हट्नुपर्छ । अन्यथा संघर्ष हुन सक्छ ।’ उनीहरुले मेयर धनराज आचार्यलाई भेटेरै भरतपोखरीमा ल्याण्डफिल सार्ने नीति तथा कार्यक्रम र बजेटबाट हटाउन माग गरेका छन् । त्यसो भए पोखराको फोहोर अव कहाँ फाल्ने त ? मेयर आचार्य भन्छन्, ‘खासै ठूलो समस्या होइन । वातावरणीय अध्ययन मूल्याङ्कन हुन बाँकी छ । अध्ययन नहुँदै ठाउँको नाम प्रस्ताव गर्नु राम्रो होइन भनेर साथीहरूले सुझाव दिनुभएको छ । हामी अध्ययन गर्छौँ । अध्ययनले हुँदैन भन्यो भने लैजाने कुरै भएन ।’

अरू ठाउँहरू पनि विकल्पको रूपमा खोजी भइरहेको र सँगै अध्ययन गरिने उनले बताए । ‘अहिले जुन हिसाबले फोहोर फालेका छौँ, त्यही हिसाबले त लैजाँदैनौँ । रि-साइकल गर्छौँ । कम्पोस्ट मल, ग्याँस बनाएर बाँकी रहेको ५ प्रतिशत फोहोर मात्रै ल्याण्डफिल पुग्छ,’ उनले भने, ‘त्यो फोहोर ढुङ्गा जस्तै हो । त्यसमा सिसाको भाग बढी हुने भएकोले निश्चित ठाउँ खोजेको हो । कोही पनि आत्तिनु पर्दैन ।’ आचार्यले पोखराको फोहोरलाई आम्दानीसँग जोड्न पनि छलफल अघि बढिसकेको बताए । ‘अघिल्लो बैठकले निर्णय गरेको ठाउँ भएकोले पूर्वाधार बनाउन बजेट छुट्याएको हो । त्यो नै अन्तिम होइन । छिटो भन्दा छिटो टुङ्ग्याउँछौँ,’ अघि भन्छन्, ‘अन्तर्राष्ट्रिय प्राविधिक पनि आउनुभएको छ । सबैको सुझाव लिएर केही समयभित्रै ठोस काम अघि बढ्छ । आम्दानीसँग फोहोरलाई जोड्छौँ ।’ उनले महानगरका कारण उडान अवरुद्ध नहुने दाबी गरे ।

पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन । २०७२ सालमा गोल्डरस कम्पनीले बिजुली निकाल्ने प्रस्ताव ल्याएको थियो । पोखराबाट उत्सर्जन हुने फोहोरबाट ८ मेगावाट बिजुली निकाल्ने प्रस्ताव गोल्डरसको थियो । तर नगरपालिकाले उक्त कम्पनीलाई स्विकारेन । उक्त कम्पनीले २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने गरी २० रोपनी जग्गा र ३० वर्षको सम्झौता मागेको थियो । नगरपालिकाले यसमा चासो दिएन । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पनि फोहोरबाट बायो ग्याँस उत्पादन गर्ने परियोजना चलाउन लागेको थियो । त्यसका लागि सहमति भएपनि जनप्रतिनिधि आएपछि त्यो काम अघि बढ्न सकेन । केन्द्रले पोखराको फोहोरबाट दैनिक ५ सय सिलिन्डरभन्दा बढी ग्याँस उत्पादन गर्न सकिने रिपोर्ट निकालेको थियो । अहिले फोहोरको अनुपात अध्ययन भन्दा दोब्बर बढेको छ । केही समयअघि प्लास्टिकजन्य फोहोरबाट पोखरामै सडक पिच गर्ने प्रविधिको समेत प्रयोग भएको छ । व्रिक निर्माणको प्रयास पनि गरिएको छ ।

अब निर्वाहमुखी व्यवस्थापनले पोखराको फोहोर समस्या समाधान नहुने जानकारहरूको तर्क छ । फोहोर सङ्कलन र व्यवस्थापनका लागि पोखरा महानगरपालिकामा १ सय जना हाराहारी कर्मचारी छन् । अरू पालिकाहरूमा फोहोरबाट आम्दानी भएपनि पोखराले भने फोहोर व्यवस्थापनकै लागि बर्सेनि ७ करोड रुपैयाँभन्दा बढी खर्च गर्छ । ल्यान्डफिल साइटका लोडर र डोजरको इन्धन तथा मर्मत, अरू गाडीको खर्च छ । त्यसबाहेक पनि कर्मचारीको तलबमा बजेट खर्च हुँदै आएको छ । हाल यहाँको फोहोर व्यवस्थापन गर्न वडा अनुसार कम्पनीले जिम्मा लिएका छन् ।

हाल ६ वटा कम्पनीले फोहोर उठाएर ल्याण्डफिल पुर्‍याउँछन् । फोहोर ठेक्का लिएका कम्पनीहरूले आर्थिक बर्सेनि करिब ४ करोड हाराहारी उठाउँछन् । उठेको रकममध्ये २० प्रतिशत महानगरपालिकाले लिन्छ भने ८० प्रतिशत ठेकेदार कम्पनीले लिन्छन् । कर्मचारी र जनप्रतिनिधिकै समेत स्वार्थका कारण फोहोरबाट आम्दानी गर्ने भन्दा परम्परागत हिसाबले नै ठेक्कामा गइरहेको छ । बेलाबेलामा गरिएका अध्ययन अनुसार फोहोरलाई पोखरामा राजस्व बढाउने राम्रो स्रोतको रूपमा लिएको छ । तर महानगरकै चासो नभएका कारण स्रोत आर्जन गर्नेभन्दा बढी खर्च भइरहेको छ । जसका कारण यहाँको फोहोर व्यवस्थापन दिनदिनै टाउको दुखाइका रूपमा विस्तार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *