नेपालमै उच्च स्थानमा गल्फको परीक्षण, लोवाथाङमा खेलियो पहिलो पटक गल्फ (तस्बिरहरू)

पोखरा । नेपालमै सबैभन्दा उच्च स्थानमा गल्फको परीक्षण गरिएको छ । समुन्द्री सतहबाट ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङ स्थित लोवाथाङमा गल्फको परीक्षण गरिएको हो ।

सांसद तथा खेलाडी इन्द्रधारा विष्टले पहिलो ड्राइभ हिर्काएपछि लोवाथाङमा गल्फको सुरुवात भएको हो । विष्टले वर्षौँ अघिदेखि त्यहाँ गल्फ कोर्स बनाउने र विश्वका खेलाडीलाई उच्च स्थानमा खेल्ने वातावरण बनाउने तयारी गरेका थिए । पहिलो पटक शुक्रबार पोखराका गल्फरहरुले ६ होलको प्रतिस्पर्धा गरेका हुन् ।

गल्फर भूबहादुर गुरुङ (भुवन), राजु थकाली, बलराम थापा, भक्तराज गुरुङले गल्फको सुरुवात गरेका हुन् । ‘६ होलमा खेल्यौँ । ९ होलको खेल्न लागेका थियौँ, समय मिलेन,’ विष्टले भने, ‘यो सुरुवातले लोवाथाङमा खेल्न सम्भव छ भन्ने पुष्टि भयो ।’ उनका अनुसार टिबक्स र बंकर बनाइसकिएको छ । हावा धेरै चलेका कारण केही समस्या भएपनि समय मिलाएर सम्भव हुने उनको भनाइ छ ।

कोर्स तयार भएपछि विधिवत् प्रतियोगिता आयोजना गर्न सकिने खेलाडी भूबहादुर गुरुङले बताए । ‘सम्भावना छ । खेल्न सकिन्छ,’ उनले भने, ‘केही मौसमी समस्या छ ।’

प्रतिस्पर्धा आयोजना भएपछि यो विश्वकै सबैभन्दा अग्लो स्थानको गल्फ कोर्स बन्ने छ । अहिले त्यहाँ ग्रिनहरू तयार गरिरहेको उनले बताए । कोर्स बनाउन विष्टले ८ लाख रुपैयाँ लगानी गरेका छन् । आगामी वर्ष प्रतियोगिता आयोजना गर्नका लागि लोमान्थाङ गाउँपालिकाले १० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *