यी प्रदेशमा वर्षा हुने, बाढी-पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ । नेपालमा वर्षा सक्रिय हुँदै गएको छ । देशका विभिन्न भू-भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षा समेत भएको छ ।

आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज (आइतबार) राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पूर्वका विभिन्न स्थानमा र पश्चिमका पहाडी तथा हिमाली भू-भाग लगायतका साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ । सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *