मध्ये बर्खामा राष्ट्रपति रनिङ शिल्ड

पोखरा । बर्खाले छपक्कै छोपेपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ । असार १९ देखि २१ गतेसम्म आठौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको हो ।

सरोकारवालाहरूको बैठकले असार तेस्रो साता कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।कोरोनाका कारण २ वर्ष कार्यक्रम हुन सकेको थिएन । ‘२ वर्षसम्म कोरोनाका कारण स्थगित भयो । कार्यक्रम नहुँदा जिल्लाको खेल गतिविधि ठप्पजस्तै भएको छ,’ उनले भने, ‘खेललाई चलायमान बनाउन र खेलाडी उत्पादनका लागि रनिङ शिल्ड असारमै भएपनि गर्न लागेका हौँ ।’

प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहका विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउनेछन् । १ हजार मिटर र १ हजार ५ सय मिटर दौड सडकमा गराउने र अन्य प्रतियोगिता रङ्गशालाभित्र हुने बताइएको छ ।

रनिङ शिल्डमा कबड्डी, भलिबल, एथलेटिक्सका विभिन्न प्रतियोगिता, मार्सल आट्र्स तर्फ कराते र टेबल टेनिस लगायतका खेलहरू हुनेछन् । त्यसका लागि १७ गतेभन्दा पहिले नै पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता हुनेछ । १८ गते साँझसम्म विद्यालयले विद्यार्थीको सूची जिल्ला खेलकुद विकास समितिमा पठाइसक्नुपर्ने बस्नेतले बताए । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.