अस्ताइन् काजलकली

चितवन । एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकली अब सधैँको लागि अस्ताएकी छन् । काजलकली दुईपटक ढल्दा त उठेकी थिइन्, तेस्रो पटक ढलेको १० दिनमा कहिल्यै नउठ्ने गरी काजलकली अस्ताइन् । काजलकली सधैँको लागि अस्ताउँदा पशु अधिकारकर्मी तथा सरोकारकर्मीहरू चिन्तित छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक किरणराज रिजालले काजलकली ढलेको १० दिनपछि आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा अस्ताएकी बताए । उनको पोष्टमार्टम गरेर ढलेको ठाउँ नजिकै गाडिएको उनले बताए । उनको निधनपछि पशु चिकित्सक तथा प्राविधिकहरू चिन्तित भएका छन् ।

सौराहाको होटेल पार्कको छेउमा ढलेकी काजलकली त्यही नै अस्ताएकी हुन् । यसअघि नै प्राविधिकहरू अब काजलकली उठ्न सक्दिनन् भन्ने निचोडमा पुगेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक रिजालले भने, ‘बचाउन सकेनौँ, दुःख लागेको छ, हात्ती अजङ्गको जनावर हो, मृत्युमा धेरै पीडा हुन्छ । त्यसैले पीडा कम गराउने उपाय मात्र गरेर बस्यौँ, हामी उनी उठ्न सक्दिनन् भन्ने ठाउँमा पुगिसकेका थियौँ ।’

काजलकलीले चितवनको सौराहामा पाँच वर्षदेखि पर्यटक बोक्दै आएकी थिइन् । पाँच वर्षअघि काजलकलीलाई सौराहाका व्यवसायीले भारतबाट ल्याएका थिए । पर्यटकको चाप बढेको बेला काजलकलीलाई सौराहा झिकाइएको हो । सौराहाका भेटेरिनरी प्राविधिक रिजालका अनुसार काजलकली भारतबाट सौराहामा आउँदाखेरि नै कमजोर र बूढी थिइन् । ‘त्यति बेला नै उनी कमजोर हुन्, केही वर्षमात्र काम गर्न सक्ने अवस्थामा थिइन्,’ रिजालले भने, ‘यहाँका व्यवसायीले काजलकलीलाई भारत पठाउन खोजेका हुन्, तर उनलाई सौराहा नै ल्याइयो ।’

यो पनि : जीवन र मरणको दोसाँधमा काजलकली !

उनका अनुसार गत भदौमा सौराहाका व्यवसायी मधुकर रेग्मीले काजलकलीलाई बेचेका हुन् । पाँच वर्षअघि काजलकलीलाई भारतबाट मधुरलगायतले ल्याएका हुन् । अहिले बेच्दा प्राविधिक कारणले काजलकली भारत जान पाइनन् । सौराहा नै आइन् । कोरोनाको कहरमा केही हात्ती सौराहाबाट भारत पुगे, तर काजलकली फिर्ता भइन् ।

वन्यजन्तुको खरिदबिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धिमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले काजलकली भारत जान पाइनन् र सौराहा नै फर्किन् ।

‘भारत बेचिएको काजलकलीको पैसा व्यवसायी लिइसकेका कारण हात्ती बेवारिसेजस्तो बन्यो । भारतबाट फर्काइएको हात्ती काम गर्न नसक्ने अवस्थामा थियो’ रिजालले भने, ‘अन्ततः उनको मृत्यु भयो । काजलकली ६० वर्ष माथिकी थिइन् । हात्तीको आयु सामान्य ८० वर्ष हुन्छ । ४५ लाखमा सौराहा ल्याइएको काजलकलीलाई पाँच वर्षपछि निकै सस्तोमा भारत पठाउन खोज्दा उनी त्यहाँ पुग्न पनि सकिनन् । यहाँ काम गर्न नसक्ने भएपछि उनको स्याहार पनि हुन सकेन ।’

पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरूले काजलकली यो अवस्थाको मृत्युलाई दुखद मानेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *