जीवन र मरणको दोसाँधमा काजलकली !

चितवन । अब ‘म्याजिक’ नै भयो भने मात्र उठ्छिन् काजलकली । तर अब काजलकली फेरि उठ्छिन् भन्नेमा भेटेरिनरी प्राविधिकहरू विश्वस्त छैनन् । एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकली दुईपटक त उठेर जागेकी थिइन्, अब भने उनी उठ्न सक्दिनन् भन्नेमा पशु चिकित्सक तथा प्राविधिकहरू पुगिसकेका छन् ।

काजलकली दुब्ली छन् । शरीरमा घाउहरू छन् । शरीरका हड्डीहरू प्रस्ट देखिन्छन् । सौराहाको होटेल पार्कको छेउमा ढलिरहेकी छन् । प्राविधिकहरू उपचार गरिरहेका छन्, तर उनलाई बचाउन होइन, पीडा कम गराउन मात्र । किनकि प्राविधिकहरू अब काजलकली उठ्न सक्दिनन् भन्ने निचाेडमा पुगेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरिनरी प्राविधिक किरणराज रिजालले भने, ‘घाउहरूमा मलहम लगाएका छौँ, दुखाइ कम गर्न पेनकिलर दिएका छौँ । हात्ती अजङ्गको जनावर हो, मृत्युमा धेरै पीडा हुन्छ । त्यसैले पीडा कम गराउने उपाय मात्र गरेका छौँ, हामी उनी उठ्न सक्दिनन् भन्ने ठाउँमा पुगिसकेका छौँ ।’

काजलकलीले चितवनको सौराहामा पाँच वर्षदेखि पर्यटक बोक्दै आएकी थिइन् । उनले सौराहामा असंख्य पर्यटकलाई गैँडा देखाइन, जंगल सफारी गराइन् । आज उनी जीवन र मरणको दोसाँधमा छिन् । हल न चलको अवस्थामा पुगेकी काजलकलीलाई आज सबैले हेर्छन् र सान्त्वना दिन्छन् । प्राविधिकहरू मुटु चले नचलेको ख्याल गर्दै बस्छन् ।

पाँच वर्षअघि काजलकलीलाई सौराहाका व्यवसायीले भारतबाट ल्याएका हुन् । पर्यटकको चाप बढेको बेला काजलकलीलाई सौराहा झिकाइएको हो । सौराहाका भेटेरिनरी प्राविधिक रिजालका अनुसार काजलकली भारतबाट सौराहामा आउँदाखेरि नै कमजोर र बूढी थिइन् । ‘त्यति बेला नै उनी कमजोर हुन्, केही वर्ष मात्र काम गर्न सक्ने अवस्थामा थिइन्, अहिले उनको अवस्था नाजुक छ’ रिजालले भने, ‘यहाँका व्यवसायीले काजलकलीलाई भारत पठाउन खोजेका हुन्, तर उनलाई सौराहा नै ल्याइयो ।’

उनका अनुसार गत भदौमा सौराहाका व्यवसायी मधुकर रेग्मीले काजलकलीलाई बेचेका हुन् । पाँच वर्षअघि काजलकलीलाई भारतबाट मधुरलगायतले ल्याएका हुन् । अहिले बेच्दा प्राविधिक कारणले काजलकली भारत जान पाइनन् । सौराहा नै आइन्, अहिले उनी मृत्युसँग लडेर थाकेकी छन् । कोरोनाको कहरमा केही हात्ती सौराहाबाट भारत पुगे, तर काजलकली फिर्ता भइन् ।

वन्यजन्तुको खरिदबिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धिमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले काजलकली भारत जान पाइनन् र सौराहा नै फर्किन् ।
‘भारत बेचिएको काजलकलीको पैसा व्यवसायी लिइसकेका कारण हात्ती बेवारिसेजस्तो बन्यो । भारतबाट फर्काइएको हात्ती काम गर्न नसक्ने अवस्थामा थियो’ रिजालले भने ।

काजलकली ६० वर्ष माथिकी छन् । हात्तीको आयु सामान्य ८० वर्ष हुन्छ । ४५ लाखमा सौराहा ल्याइएको काजलकलीलाई पाँच वर्षपछि निकै सस्तोमा भारत पठाउन खोज्दा उनी त्यहाँ पुग्न पनि सकिनन् । यहाँ काम गर्न नसक्ने भएपछि उनको स्याहार पनि हुन सकेन ।

पशु अधिकारका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरूले काजलकली यो अवस्थामा पुग्नुलाई दुखद मानेका छन् । अधिकारकर्मी सुराजन श्रेष्ठका अनुसार भारतीय नागरिकलाई बिक्री गरिएको हात्ती नेपाल आएपछि सरकारले यसको संरक्षणमा तदारुकता देखाउनुपर्ने थियो, तर त्यसो भएन, अहिले दुःख लाग्छ, काजलकली मृत्युसँग जुधिरहेकी छन् ।’

चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले निकुञ्जले नै हात्तीको हेरविचार गरिरहेको बताए । व्यवसायीले छोडेको हात्तीको औषधमुलो गरिरहेका बताउँदै उनले अब सकिने अवस्था नरहेकाे जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *