बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये एक हो ।

बागमतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।

टौदहका स्थानीयवासी मिलन खड्काले भने “बागमती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।”

बागमतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि बागमतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनले बताए । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूध पोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ ।

खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउँछन् ।

रेखाङ्कन र सीमाङ्कनको समस्या विभिन्न निकायहरूले बागमती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन तटबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने यकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउँछन् ।

“पटक पटक बागमती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ तर आजसम्म भएन ।” सीमाङ्कन नभएका कारण निर्माण व्यवसायीले काम सुरु गर्न नमानेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =