राजधानीका यी क्षेत्रमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन् । ‘अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो,’ उनले भनिन्, ‘यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत हुनुपर्छ ।’

अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको जनस्वास्थ्यविद्हरुको अनुमान छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासको बुझाइ छ । ‘हैजाको संक्रमणको स्रोतमा अझैसम्म पनि पुग्न सकिएको छैन । त्यो स्रोत एकिन गर्न सकिएको भए रोकथाम तथा नियन्त्रण गर्न सकिन्थ्यो होला,’ डा. दासले भने, द्धदिनहुँ नयाँ-नयाँ स्थानमा हैजा फैलिरहेको छ, जसले महामारीको रुप लिन समय लाग्दैन ।’

याे पनि : ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर

सरकारले काठमाडौँ महानगरसहित विश्व स्वास्थ्य संगठन र यूनिसेफलाइ हैजा नियन्त्रणमा सहकार्यका लागि आग्रह गरेको छ । हैजा फैलिएका स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम गर्न भनिए पनि पूणर्रूपमा फोहोर व्यवस्थापन नभइसकेको र पानीको अपर्याप्तता रहेको काठमाडौँमा हैजा नियन्त्रण चुनौतीपूर्ण हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *