विराटनगरलाई सुधार गर्न एलिटद्वारा यस्ता सुझाव

विराटनगर । एलिट क्लब विराटनगरले विराटनगरबासीको साझा चिन्ता र सरोकारलाई समेटेर लैजान महानगरपालिकालाई सुझाव दिएको छ।

विराटनगर महानगरपालिकाको नेतृत्वले विराटनगरको विकासका लागि ध्यान दिनु पर्ने कुराहरू समेटेर एलिटले सुझाव दिएको हो । दिइएको सुझावमा कम्तीमा पन्ध्र वर्षको योजना तयार गरेर बृहत्तर विराटनगरको अवधारणा अनुरूप पञ्चवर्षीय योजना बनाई त्यसलाई लक्षित गरेर वार्षिक नीति, कार्यक्रम, योजना र बजेट बनाउने परिपाटी बसाउन सुझाव दिइएको एलिट क्लबका महासचिव यज्ञ शर्माले जानकारी दिए ।

पूर्वाधार विकास

‘नगर विस्तारको गुरुयोजना बनाई वडा १९ तथा अन्य खुला ठाउँ रहेको क्षेत्रमा बाटाघाटा तथा भूउपयोगको खाका बनाउने, बिजुली, पानी जस्ता पूर्वाधारको व्यवस्था गरी सोहीअनुरूप विकास निर्माण र सहरीकरणका कार्यक्रम अगाडि बढाउन भनिएको छ’, उनले भने, ‘बनेका सडकको नियमित मर्मत सम्भार, सडक, खानेपानी, दूरसञ्चार, विद्युत प्राधिकरण आदि सरकारी कार्यालय तथा संस्थानहरूसँग समन्वय गरी काम गरियोस् ।’

नागरिक सहभागिता

बजेट र नीति निर्माणमा नागरिक सहभागिता सुनिश्चित, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, पिछडावर्गको आवाज सुन्ने वातावरण बनाउन पनि एलिटले सुझाव दिएको छ । महानगर कार्यपालिकाको कार्यक्षमता बढाउनु पर्ने, कर्मचारी भर्तिकेन्द्र बनाईन नहुने, अनावश्यक कर्मचारी नराख्न, कार्यपालिकामा आउने नागरिकका लागि स्वयंसेवकसहितको सहायता डेस्क राख्नुपर्ने पनि भनेको छ ।

सुरक्षा प्रबन्ध

विराटनगरको मुख्य समस्या डुबान र बाढी भएकोले वर्षात् र बाढी शुरू हुनुअघि नै ढल निकासको समुचित प्रबन्ध मिलाउन, सडक र नाला नियमित रूपमा सफा गर्न, सडकमा घरभित्रको फोहर, पानीको बोत्तल, गुड्खा तथा खैनीको खोल जथाभावी फ्याँक्ने प्रवृति अन्त्य गर्न पनि सुझाव दिइएको छ । सडकपेटीमा बिरामी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिका सुरिक्षत भएर हिँड्न पाउनु पर्ने, निर्माण सामग्री र फुटपाथे पसल हटाउनु पर्ने, बिरुवा रोप्न र सडकबाट फुटपाथमा जान ठाउँठाउँमा र्याम्प राख्न पनि सुझाव दिइएको महासचिव शर्मा बताउँछन् ।

वातावरण मैत्री विकास

सिटी बस संचालन, बजारका मुख्य ठाउँमा खानेपानीको व्यवस्था, हरेक वडामा महानगर स्वास्थ्य केन्द्र सञ्चालन गरी निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन पनि सुझाव दिएको छ । सुझावमा सरसफाइ, हरियाली, वृक्षरोपण, नहर सफा गर्ने, खेलमैदान, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, खोला किनारबाट बाईपा सडक, खाली जमिनलाई पार्किङ बनाउन, ऐलानी जमिनको लगत संकलन, ज्येष्ठ नागरिक पार्क, मनोरञ्जन पार्क, खेल मैदान, प्रदेशको राजधानीलाई ग्रेटर विराटनगरको अवधारणामा काम गर्न सुझाएको छ । टोल विकास संस्थालाई विकासको साझेदार बनाई काम विकास निर्माणको काम अघि बढाउन पनि भनिएको छ ।

करको दायरा बढाऊ

महानगरको राजस्व बढाउनका लागि करको दायरा बढाउन सुझाव दिएको छ । नाफाको उद्देश्यले सञ्चालित हरेक पसल, घरबहाल, खाजाघर, ब्युटिपार्लर, सैलुन, फर्म, क्लिनिक, विद्यालय तथा अस्पतालहरूलाई करको दायरामा ल्याउनु पर्ने र त्यसका लागि स्वयंसेवकहरू परिचालन गरी लगत संकलन गर्ने, छुटेका करदातालाई महानगरले लिने कर तथा शुल्कमा विशेष छुटको घोषणा गरी करको दायरामा पुनः जोड्ने लगायतका सुझाव एलिटले दिएको छ ।

यस्तै, विराटनगरमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका जनताको लगत संकलन गरी परिचयपत्र वितरण गर्नुपर्ने, सीप विकासका लागि गुरुसँग चेला कार्यक्रम सञ्चालन गरियोस् । व्यवसाय गर्न आवश्यक शुरू पुँजीका लागि लघुवित्तसँग जोड्ने संयन्त्र बनाउन पनि सुझाव दिएको छ । शव वाहन सञ्चालन र विद्युतीय शव दाहगृह निर्माणमा ध्यान दिँदै आपतकालीन अवस्थाका बिरामीका लागि विराटनगरभित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न पनि सुझाव दिएको एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजालले जानकारी दिए ।

विभिन्न २१ बुँदे सुझावमा विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, सरसफाइ, ट्राफिक व्यवस्थापनका लागि गर्न सकिने सहज सुझावहरू दिइएको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *