महिलाबाट पुरुषमा हिंसा हुनसक्छ, यसबारे पनि सोचौँ : बिन्दा पाण्डे

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य महिलाबाट पुरुषमा हुनसक्ने हिंसाबारे पनि सोच्न आग्रह गरेकी छन् । समितिको जारी बैठकमा बोल्दै एमाले नेतृसमेत रहेकी पाण्डेले यस्तो आग्रह गरेका हुन् ।

साथै उनले बलात्कार मुद्दामा हदसम्म राख्न नहुने धारणा राखेकी छन् । ‘हदसम्म ३५ दिनबाट छ महिना पुर्‍यायौँ, ६ महिनाबाट एक वर्ष पुर्‍यायौ । यसले पनि भएन । अब जहिले सुकै उजुरी दिन पाउने गरी न्यायको ढोका सधैँका लागि खुला गरौँ,ड उनले भनिन्, ‘उजुरी परेपनि छानबिन गर्दा भएको के हो पत्ता लाग्छ ? हदसम्म राखिनु हुँदैन ।’

सार्वजनिक पद धारण गरेको व्यक्तिलाई मुद्दा लाग्दा कुनै पनि पदको लागि अयोग्य हुनेगरी जानुपर्ने उनको भनाई छ । ‘ सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा- यस्तो अपराध गरेको व्यक्तिलाई त्यस्तो पदमा राखिरहन त हुँदै भएन । भविष्यमा पनि कुनै सार्वजनिक पदमा अयोग्य हुनेगरी जानुपर्ने हुन्छ,’ सदस्य पाण्डेले भनिन् ।

पीडित पक्षलाई क्षतिपूर्ति पनि राज्यले दिनुपर्ने पाण्डेले बताइन् । ‘पीडित पक्षलाई क्षतिपूर्ति त दिन परिनै हाल्छ । अब परिपूरणमा जानुपर्ने हुन्छ,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी राज्यले लिनुपर्ने हुन्छ । बालबालिकाको हकमा बिचल्ली परे पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ ।’

समितिका सभापति कृष्णभक्त पोख्रेलले म्याद सकियो भनेर अदालतमा मुद्दा दर्ता नहुने गरेको बताए । ‘जरिवानाको पैसा पीडितलाई दिँदा मेरो पैसा खाएकी छे, त्यही पैसाले घर बनाएकी छे, जग्गा लिएकी छे भनेर भन्ने प्रवृत्ति देखिँदो रहेछ,’ उनले भने, ‘यसबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेर पीडितलाई राज्यकोषबाटै क्षतिपूर्ति दिने व्यवस्थाका लागि पहल गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *