नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने मिस नेपाल वर्ल्ड प्रियंकाकाे प्रतिबद्धता

काठमाडौँ । नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठूलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ ।

केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटेल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौँ वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्राएका हुन् ।

सेतो रंगको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै आएकी प्रियङ्कालाई गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रियङ्काले मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताइन् ।

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,’ उनले आफ्नो भविष्यको योजनाबारे पनि भनेकी छन्, ‘अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोसिस गर्नेछु ।’ उनले मिस नेपाल वर्ल्ड बन्न वर्षौंदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि आफूसँग शब्द नै नभएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.