भरतपुर र पोखरा महानगर प्रमुखबीच भेटवार्ता, सहकार्य गर्दै अघि बढ्ने सहमति

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा दुबैबीच विकास निर्माणमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको थियो । छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेको बताइन् ।

उनले विकास निर्माणसँगै पर्यटन प्रवर्द्धनमा सँगसँगै अघि बढ्ने सहमति भएको पनि बताइन् । दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्ने बताइन् । भरतपुर, पोखरा र लुम्बिनीको यसअघि नै त्रिकोणात्मक पर्यटनका लागि सहकार्य हुँदै आएको छ ।

पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाइन प्रणाली, खरिद व्यवस्थापन, योजना कसरी छनोट गर्ने भन्ने विषयमा जिज्ञासा राखेको थियो । पोखरा महानगरपालिकाले राखेको जिज्ञासामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जवाफ दिएका थिए । विभिन्न शाखा तथा उपशाखाका कर्मचारीले अनुभवबारे बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =