मिटरब्याजी पीडितको बिलौना- ‘२५ कठ्ठा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’

काठमाडौँ । माइतीघरको सडकमा राम सुरत गुप्ता र उनका केही सहयोगीहरू धर्ना दिएर बसेका छन् । चिसो भुईँ, खाली खुट्टा, सुकेका ओठ र फुस्रा आँखा लिएर एउटा समूह नै राम सुरतलाई साथ दिन धर्ना बसेका छन् ।

उनीहरूको साथ राम सुरतलाई किन पनि छ भने राम सुरत र त्यहाँ साथ दिने समूहले भोगेको कथा फरक छैन । उनीहरूको माग र विद्रोह फरक छैन ।

यी समूह नवलपरासी जिल्लाको सुस्ता र प्रतापपुर गाउँपालिकाबाट आएका हुन् । त्यही सुस्ताका अर्का व्यक्ति धर्नामा छन्, जसको नाम हो सत्यनारायण चमार । सत्य नारायण किन सुस्तादेखि माइतीघरमा धर्ना र राम सुरतलाई साथ दिन आए भन्ने कथा विसं २०६६ देखि सुरु हुन्छ ।

सत्यनारायण चमारले विसं २०६६ माघ १० गते गाउँकै साहु जगदीश बानियाँसँग आफ्नो लालपुर्जा धितो राखेर १ लाख २३ हजार रुपैयाँ ऋण लिए । गरिबीले घर धान्नै नसकिने भएपछि उनले केही बस्तुभाउ किनेर पाल्ने भन्दै ऋण लिएका उनले साहुलाई मासिक १५ हजार रुपैयाँ ब्याज सहित सावाको रकम पनि बुझाउँदै गए ।

त्यसो गर्दैजाँदा विसं २०६७ फागुन महिनासम्ममा ५ लाख रुपैयाँभन्दा बढी रकम बुझाएको तर उनलाई अझै साहुले पैसा मागिरहेको बताउँछन् सत्य नारायण । त्यतिमात्रै होइन ऋण तिरिसक्दा पनि सत्य नारायणले लालपुर्जा फिर्ता पाएका छैनन् ।

राम सुरतसँग पनि सोही घटना घट्यो । उनले सुनाए, ‘हामीलाई आवश्यकता परेको बेलामा साहुले पैसा दिए त्यो ठिक छ । जब हामीले साहुलाई पटकपटक रकम बुझायौँ त्यसपछि पनि उनले हामीलाई एक लाख रुपैयाँ ऋणको २० लाखदेखि ३० लाख रुपैयाँसम्म असुल गरे त्यसपछि हाम्रो बिचल्ली भयो । साहु अझै पैसा मागिरहेका छन् । कति ऋणीको त सम्पत्ति नै बेचिदिएका छन् । अझै हामीले पैसा तिर्नै बाँकी छ भन्छन् । उनलाई हामीले ऋण तिरिसकेको प्रमाण हुँदा पनि केही गर्न सकेका छैनौँ । न अब हाम्रो जग्गा जमिन छ, न त ऋण नै सकिएको छ । अब हामी सुकुम्वासी भएका छौँ । राज्यले हाम्रो साहुलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ । अड्डा अदालत धाउन, मुद्दा मामिला गर्न हामीसँग पैसा छैन । हामी मुद्दा लड्ने हैसियत नै राख्दैनौँ ।’

ऋणीहरूबाट मिटर ब्याजबाट उठाएको एक अर्बभन्दा बढी रकमलाई सुनिल बानियाँ, सुरेश बानियाँ, सुजित बानियाँ र जगदीश बानियाँले नेपालमा हिसाबकिताब देखाउन नसक्ने भएकाले भारतको सहारा बैङ्कमा पैसा जम्मा गरेको दाबी गर्छन् राम सुरत । उनी भन्छन्, ‘उनीहरूलाई कसले कारबाही गर्नु र नेपाल र भारत दुई देशको नागरिकता लिएर बसेका छन् ।’

राम सुरतकै छेउमा रहेका अर्का व्यक्तिले थपे, ‘मैले २५ कठ्ठा जमिन धितो राखेर डेढ लाख रुपैयाँ ऋण लिएको थिएँ । अहिले उनको त्यो जग्गा जगदीशले अरू नै व्यक्तिलाई बेचिसकेका छन् । म अब भूमिहीन छु । हो, हामीले साहुबाट जम्मा हिसाब गर्ने हो भने ४० लाख जति ऋण लिएका छौँ तर त्यही पैसाको एक वर्षमा नै सावा र ब्याज भन्दै साहुले अर्बौं रुपैयाँ असुल गरिसक्यो । अझै हाम्रो धरौटी फिर्ता गर्दैन । अब राज्यले त्यो मिटरब्याजी साहुलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ । चाहे जेसुकै होस् । हामीलाई धितो राखेबापतको हाम्रो जमिन, घर र सम्पत्ति राज्यले फिर्ता ल्याइदिनुपर्छ । किनभने यो अब हामी भूमिविहीनहरूको मुद्दा भइसकेको छ । अपराध गर्ने खुल्ला हिँडिरहेका छन् हामी सडकमा आयौँ अब राज्यले के गर्छ हेर्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *