पिएसजीमै बस्ने नेयमारको चाहना

काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्न अस्वीकार गरेका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार नेइमारले आफ्नो निर्णयबारे क्लब व्यवस्थापनलाई जानकारी गराएका हुन् ।

३० वर्षीय नेइमार सन् २०१७ को बार्सिलोनाबाट रेकर्ड २२२ मिलियन युरोको विश्व कीर्तिमानी शुल्कमा पिएसजी आएका थिए । पिएसजीमा आएपछि लगातारको इन्जुरी पछि नेइमारले सोचे जस्तो प्रदर्शन भने गर्न सकेका छैन । पिएसजीले आफ्नो आर्थिक पक्षलाई सन्तुलित बनाउन यस अघि नेइमारलाई अन्य क्लबमा बेच्ने रिपोर्ट सार्वजनिक भएको थियो । युइएफएले पिएसजीलाई आफ्नो आर्थिक पक्षबारे स्पष्ट जानकारी दिन आग्रह गरेपछि पिएसजी दबाबमा आएको छ ।

पिएसजी हाल २२४ मिलियन युरो घाटमा रहेको रिपोर्ट पछि युइएफएले पिएसजीमाथि यस बारेमा थप स्पष्ट गर्न आग्रह गरेको बताइएको छ । यस अघि पनि पटक पटक पिएसजीले युइएफएको फाइनान्सियल फेयर प्लेको उलङ्घन गरेको आरोप लाग्दै आइरहेको छ । पिएसजीले अहिले खेलाडीको पारिश्रमिकमा ६०० मिलियन युरो तिरिरहेको बताइएको छ । यसमा किलियन एम्बाप्पेको नयाँ सम्झौता समावेश छैन ।

यी सबै आर्थिक समस्याहरूलाई सन्तुलनमा राख्न पिएसजीले केही खेलाडीलाई बेच्ने रणनीति बनाएको छ । तर नेइमार बाहेक अन्य खेलाडीलाई बेचेर पिएसजीको आर्थिक समस्या सल्टिन नसकिने दाबी गरिएको छ । नेइमारको पिएसजीमा २०२५ सम्म सम्झौता छ ।

नेइमारलाई राम्रो शुल्कमा बेच्ने तयारीमाथि उनले अस्वीकार गरेपछि धक्का लागेको छ । अर्कोतर्फ नेइमारको अहिले पिएसजीमा वार्षिक करिब ५० मिलियन युरो पारिश्रमिक रहेको छ र अहिले नेइमारलाई ठूलो शुल्क तिरेर किन्न कुनै क्लब तयार पनि देखिएका छैनन्, त्यसै कारणले पनि नेइमारले पिएसजी छोड्ने इच्छा देखाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *