एक्लै लडेर चुनाव जित्छु भन्ने आँट कांग्रेससँग छैन: शंकर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसलाई एक्लै लडेर चुनाव जित्छु भन्ने आँट नभएको टिप्पणी गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आज शनिबार राजधानीमा आयोजित दोस्रो बैठकमा बोल्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । पछिल्लो समय नेपाली कांग्रेसको प्रचार पहिलो पार्टी भनेर गरिएको भए पनि त्यसमा सत्यता नरहेको पोखरेलले दाबी गरे ।
साथै, उनले कांग्रेसले चलाखीपूर्ण ढंगले चुनावी तालमेल गरेको उल्लेख गर्दै जनमत र लोकप्रियताका हिसाबले एमालेलाई कसैले उछिन्न नसक्ने बताए । उनले भने, ‘जहाँ एमाले र कांग्रेस उत्तिकै प्रतिस्पर्धामा देखिए, त्यहाँ कांग्रेस एक्लै उभियो, जहाँ कमजोर देखियो त्यहाँ त्यहाँ गठबन्धनभित्र तालमेल गर्यो. तर, कतिपय ठाउँमा पाँच दलले पनि नपुगेर अन्यसँग पनि मिल्यो ।
उनले अगाडि भने, ‘एउटा दल एमालेलाई हराउन पाँच पाँचवटा दलले नपुगेर ६-७ वटा दल भेला गर्नुपरेको छ तर प्रचार के गरेको छ भने देशको पहिलो दल कांग्रेस हो कांग्रेसले एमालेलाई हरायो ।’ नेपाली कांग्रेसले गएको चुनावमा जम्मा ३३ प्रतिशत मत पाउँदा नेकपा एमालेले ३४ प्रतिशत मत पाएको उल्लेख गर्दै पोखरेलले देशको पहिलो पार्टी अझै पनि नेकपा एमाले नै रहेको ठोकुवा गरेका छन् ।
साथै, महासचिव पोखरेलले एसपीपीका सन्दर्भमा पनि सत्य-तथ्य छानबिन गरी सहमति भएको हो भने खारेज गर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा एमाले नेता एवं संगठनका इन्चार्ज भानुभक्त ढकालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेका छन् । नेता ढकालले गत जेठ १४ गते मध्यराति विचौलियाहरूलाई मन्त्रालयमै लगेर करका डर रेटहरू मनमौजी परिवर्तन गर्ने काम भएको भन्दै सो गतिविधिको भत्सर्ना गरेका छन् ।
विचौलियाको प्रयोग गरी घरानियाहरुका लागि सहुलियत हुने गरी करको डर रेट चलाइएको बताउँदै उनले भनेका छन्, ‘सेनिटरी प्याडका कुरा छन् त्यहाँ, अप्रत्यक्ष रूपमा जोडिंदै जाँदा आरजु भाउजुसँगै जोडिएको छ, कतिपय विनोद चौधरीजीको विषयमा जोडिएको छ । यसकारण, यो सरकार जनताको लागि होइन, जनताप्रति उत्तरदायी छैन भन्ने कुराको यो उदाहरण हो ।
नेता ढकालले करमा गरिएको हेरफेर आम जनताका लागि नभएर घरानिया र ठूला व्यवसायीहरूका लागि भएको दाबी गर्दै अर्थमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । उनले अगामी दिनमा पार्टी एकता गर्दा नेतालाई अनुनय विनय गरेर मिसाएर भन्दा जनस्तरमा, कार्यकर्तास्तरमा, तलैदेखिको एकता गर्नु उपयुक्त हुने पनि बताए ।
साथै, उनले आगामी भदौ पहिलो हप्ताभित्र प्रदेश, जिल्ला र पालिकाहरूमा अधिवेशन सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन समेत निर्देशन दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित दोस्रो बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेता एवं संगठनका इन्चार्ज भानुभक्त ढकाल, एमाले पोलिटब्युरो सदस्य जितु गौतम, समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, एमाले केन्द्रीय सदस्य एवं मुक्ति समाजका सह-इन्चार्ज वमबहादुर वि.क., देशैभरबाट ७७ वटै जिल्लाका केन्द्रीय कमिटी सदस्यलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।










