नेपाली सेनामार्फत् अमेरिकाले एसपीपी सम्झौताको प्रयास गर्नु गम्भीर: वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले नेपाली सेनामार्फत् अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को सम्झौता गर्ने प्रयास गर्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

नेता पुनले परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत् आउनु शंकास्पद र गम्भीर भएको बताएका छन् । उनले भने, ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत् आउनु पर्नेमा सेनामार्फत् आउनु गम्भीर हो ।’ आज शनिबार ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ शीर्षकमा मदन भण्डारी फाउण्डेशनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पुनले भने, ‘अब यस्तो नदोहोरियोस्, यो नै अन्तिम पटक होस् ।’

असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न हुन नसक्ने उल्लेख गर्दै पुनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सोझै सैनिक नेतृत्वमार्फत् एसपीपीको प्रस्ताव आउनु पछाडिको कारणमाथि छानबिन हुनुपर्ने समेत माग गरेका छन् ।

नेपाली सेनाको व्यवसायिक निष्ठामा भने कुनै शंका नरहेको स्पष्ट पार्दै नेता पुनले तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेकोमा भने आपत्ति व्यक्त गरे । उनले भने,  ‘नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका छैन । राजनीतिक नेतृत्वमार्फत् आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटकपटक गरिएको पत्राचारलाई सामान्य रूपले हेरिनु हुँदैन ।’

एसपीपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबीबीच सत्यता जाँच गर्नुपर्ने बताउँदै पुनले एसपीपीलाई एमसीसीकै अंगका रूपमा व्याख्या गरिएकोमा भने आपत्ति जनाएका छन्। एमसीसी आर्थिक साझेदारीका विषयमा भइरहँदा एसपीपी सैन्य गठबन्धनका विषयमा भएको भन्दै उनले यी दुई विषयलाई दाँज्न नमिल्ने स्पष्ट पारेका छन् ।

नेता पुनले एमसीसी र एसपीपीबीचको भिन्नता प्रस्ट्याउँदै भनेका छन्, ‘प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्दा आर्थिक साझेदारीका रूपमा मात्र स्वीकार गरेको हो । सो साझेदारी स्वीकार गर्नुअघि १२ बुँदे व्याख्यात्मक घोषणा समेत जारी गरिएको छ ।’ उनले अगाडि भने, ‘ती १२ बुँदालाई अन्यथा व्याख्या गरिए हाम्रो पार्टी  एमसीसीबाट समेत पछि हट्नसक्छ ।’

आफ्नो पार्टीले राष्ट्रिय हित विपरीतको कुनै कदम चाल्न नसक्ने बताउँदै एमसीसी सम्झौतामा समेत व्याख्यालाई तोडमोड गर्ने काम हुन पुगे त्यसबाट समेत पछि हट्ने नेता पुनको भनाइ छ । साथै, एसपीपीका विषयमा थप छानबिन गर्न पनि उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *