कैलालीमा महेन्द्रको विकल्प बन्दै हुलाकी राजमार्ग

धनगढी । कैलाली खण्डमा हुलाकी राजमार्ग करिब निर्माण सम्पन्न भएको छ । लामो समयदेखि रोकिएको बसन्ता करिडोर क्षेत्रको दुई किलोमिटर सडक निर्माण भएसँगै हुलाकी राजमार्ग निर्माण कार्य पूरा भएको हो । उक्त क्षेत्रमा वनको अवरोधका कारण काम रोकिएको थियो ।

सो क्षेत्रमा निर्माणको काम करिब सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढी सूचना अधिकारी इन्जिनियर पदम मडैले बताए । बसन्ता कोरिडोर क्षेत्रमा हुलाकी राजमार्ग विस्तारका लागि २०७३ मै विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको भएपनि वन क्षेत्रमा पर्ने भएकाले वनले काम रोकेको थियो ।

लामो समयसम्म रुख कटानको आदेश प्राप्त नभएपछि सो ठाउँमा काम अगाडि बढ्न सकेको थिएन । पटक-पटक म्याद थप हुँदै आएकोमा गत वर्षमात्रै मन्त्रिपरिषद्ले रुख कटानको आदेश दिएको थियो । धनगढी-भजनी-सत्तीसम्म ६२ किलोमिटर दूरी रहेको हुलाकी राजमार्ग सन २०१० बाट कैलालीमा निर्माणको कार्य सुरु भएको थियो । हुलाकीको स्तरोन्नति र नदीले कटान गरेको ठाउँबाहेक बाँकी अन्य काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

साथै धनगढीको क्याम्पस रोडदेखि मनहेरासम्म चार लेन र बाँकी सबै ठाउँमा दुई लेनमा हुलाकी राजमार्गलाई विस्तार गर्ने गरी थप काम पनि अगाडि बढाइएको छ । हुलाकी राजमार्ग स्तरोन्नतिको समयावधि आगामी पुससम्म रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्षको हालसम्म ३७ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । जसमध्ये कैलालीमा २५ करोड र बाँकी रकम कञ्चनपुरमा खर्च भएको सूचना अधिकारी मडैले बताए । उनका अनुसार कञ्चनपुरमा पनि हुलाकी राजमार्ग निर्माणको कार्य अझै बाँकी रहेको छ ।

महेन्द्र राजमार्गको विकल्प
हुलाकी राजमार्ग निर्माण सम्पन्न भएसँगै आवत जावतमा सहज भएको छ । जिल्लाको दक्षिणी क्षेत्रहुँदै आउजाउ गर्न सहज भएको छ । हुलाकी राजमार्ग भएर धनगढीदेखि सत्ती, सत्तीदेखि राजापुर-गुलरिया हुँदै नेपालगञ्जसम्म आउजाउ गर्न सहज भएको छ ।कान्द्रा

मा निर्माणाधीन पुल निर्माण सम्पन्न भएको खण्डमा दक्षिणी क्षेत्र हुँदै साना ठूला सवारी साधन आवत जावत गर्न सहज हुने स्थानीय बताउँछन् । धनगढीबाट टीकापुर गइरहेका धनगढीका गोविन्द कुँवरले भने, ‘धनगढीबाट महेन्द्र राजमार्ग हुँदै टीकापुर आउँदा अढाई घण्टा लाग्थ्यो, अहिले डेढ घण्टामै पुगियो ।’ कान्द्रामा बनिरहेको पुल निर्माण सम्पन्न भए महेन्द्र राजमार्गको विकल्पमा हुलाकी सडक प्रयोग हुने उनको भनाई छ ।

कान्द्रामा पुल निर्माण सम्पन्न नभइसकेको हुँदा अहिले दुई पाङ्ग्रे गाडी काठे पुल र ठूला चार पाङ्ग्रे गाडी नदी हुँदै वारपार गर्छन् । वर्षामा भने बाढीले गर्दा आवत जावत बन्द हुन्छ । महेन्द्र राजमार्गमा भने गाडीको चाप, लामो दूरी र बर्दिया राष्ट्रिय निकुञ्ज लगायतको कारणले बढी समय लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *