प्रतिपक्षी एमालेद्वारा सभामुखको व्यवहारमाथि संसदीय प्रश्न

काठमाडौँ । सभामुखमाथि संसदीय प्रश्न खडा भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीले उठाएको मागमा सत्तापक्षलाई सहयोग पुग्ने गरी भूमिका खेलेपछि सांसदहरुले सभामुखको व्यवहारमाथि प्रश्न उठाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको अरोप लगाउँदै एमालेले संसदीय छानविन समिति गठनको माग राख्दै आएको छ । प्रमुख विपक्षीको मागलाई वेवास्ता गर्दै सभामुखले संसदमा सत्तापक्षको बहुमतको चाहना अनुसार पेलेरै संसद चलाउने रणनीति अख्तियार गरेका छन् ।
बिहीबार प्रमुख विपक्षी एमालेका सांसदहरु उठेर विरोध गरिरहँदा सभामुखले अर्थमन्त्रीलाई रोष्ट्रमा गएर अर्थमन्त्रालयमाथि उठेका प्रश्नहरुको जवाफ दिन समय दिए । सभामुखले समय दिएपछि अर्थमन्त्रीले जवाफ दिए । तर, अर्थमन्त्रीको जवाफ प्रस्तुत भइरहँदा एमाले सांसदहरू उभिरहे ।
सभामुखले अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने समयमा बोल्न दिए । त्यसप्रति एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलले गम्भीर रूपमा लगातार विषय उठाइसकेपछि सभामुखले गम्भीरतापूर्वक नलिएको भन्दै गम्भीर आरोप लगाएका छन् ।
‘प्रमुख प्रतिपक्षीले यो ठाउँ (प्रतिपक्षको बेन्च) मा उठेर अब्जेक्सन जनाइसकेपछि जबरजस्ती रुपमा अर्थमन्त्रीलाई त्यहाँ (रोष्ट्रम) उभ्याएर, जनताले सुन्नै नचाहेको विषय यहाँ प्रस्तुत गर्न खोजेर सभामुख ज्युले वास्तवमा यो संसदीय मर्यादालाई पनि अलिकति सम्मान गर्नु भएन कि भन्ने हामीलाई चिन्ता लागेको छ’ एमाले सचेतक भट्टराईले भने । उनले यत्ति भनेर आफ्नो पार्टीले अर्थमन्त्रीले जवाफ दिने कायर्यक्रम रहने सेसन नै बहिष्कार गर्ने घोषणा गरे । त्यसपछि एमाले सांसदहरु बैठक छाडेर निस्किए ।
संसदीय व्यवस्थामा एकजनाले उठेर विरोध गरेपनि अवरोध गरेको मान्ने र सदनको कामकारबाहीको विषयमा सभामुखले समन्वय गर्ने गरिन्छ । तर, सभामुखले संसदमा ९८ सिट सहितको हैसियतमा रहेको सबैभन्दा ठुलो एवं प्रतिपक्ष दलले उठाएका कुरा बेवास्ता गरेर सभामुख पेलेर अघि बढे ।
एमाले सांसदहरुले सदन छाडेर हिड्दा पनि काम कारबाही अघि बढाए । यसलाई सभामुखको योग्यतामाथीको प्रश्न रुपमा लिन्छन् संसदीय मामिलाका जानकारहरू । प्रतिपक्षीविहीन संसद चिनियाँ शासन पद्धतिमा मात्रै सम्भव हुने भन्दै कतिपयले लोकतान्त्रिक प्रणालीमा प्रतिपक्षी विहिन संसद नहुने भनी सभामुखमाथि प्रश्न उठाएका छन् ।
संसदको गरिमा र मर्यादा कायम गराउने सवालमा सबैभन्दा बढी भूमिका सभामुखकै हुन्छ । तर निरन्तर रुपमा सभामुख अग्निप्रसाद सापकोटा यस विषयमा असफल हुँदै आएका आरोप लगाउनेहरु पनि छन् । समन्वयमा अघि बढ्नुपर्ने भूमिकालाई सभामुखले दलको छायाँभन्दा पर जान दिन नसकेको आरोप खेप्दै आएका छन् । पद पाउनु र त्यसको गरिमा कायम राख्नु फरक कुरा भएको भनी उनीमाथि प्रश्न उठाइएको छ । प्रश्न उठेजस्तै सभामुखले बिहीबार प्रमुख विपक्षी दलको उपस्थिति बेगर विनियोजन विधेयक पारित गराए ।
एमाले सांसदले बैठक छाडेर हिँडे पनि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिए । त्यसपछि एमालेको बहिष्कारबीच संसदबाट विनियोजन विधेयक बहुमतले पारित भयो ।
विनियोजन विधेयक पारित भएपछि सभामुखले अर्थमन्त्री शर्मालाई आर्थिक विधेयक पेश गर्न समय दिए । आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सत्तारुढ गठबन्धनका सांसदहरुले भाग लिए । आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित भयो । त्यसपछि सभामुखले यो विधेयकमाथि असार ६ गते दफाबार छलफल हुने समय तोके ।
सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५ औं संशोधन विधेयक प्रस्तुत गर्न समय दिए । दुवै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सदनले विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।








