‘ओली र प्रचण्डको मुख ताक्दै बाम एकताको पहल’

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसाल- निरन्तर वाम एकताको पक्षमा उभिँदै आएका नेता हुन् । २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीलाई वैचारिक धारमा प्रष्टताका साथ अगाडि बाउन लागि परेका भुसालको प्रयास दुई पार्टी मिलेर बनेको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को तत्कालीन आन्तरिक विवादमा ओझेलमा परेको थियो ।

तत्कालीन नेकपाका तर्फबाट सरकारको नेतृत्व सम्हालेका केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटनको प्रयास गरेपछि नेकपाको अन्तरद्दन्द्दले मुलुकलाई नै दुई ध्रुर्वमा विभाजित गर्‍याे । त्यसबेला कम्युनिस्ट एकताभन्दा संविधान र संवैधानिक व्यवस्थाको सही कार्यान्वयन महत्त्वपूर्ण बन्यो ।

नेता भुसाल पनि संविधान अनुसार मुलुकलाई अगाडि बढाउने आन्दोलनको कित्तामा उभिए । विपक्षमा रहेका तत्कालीन नेकपाका ओली समूह थियो । नेकपामा आन्तरिक विवाद चलिरहेका बेला २३ फागुन २०७७ मा सर्वोच्च अदालतले नाम सम्बन्धी विवादमा नेकपा एमाले र माओवादी केन्द्र नै ब्युँतने फैसला गर्‍याे । त्यसपछि एउटै कित्तामा रहेर नेकपाको आन्तरिक द्धन्द्धमा अन्तरसंघर्ष गरिरहेकाहरु पनि दुई पार्टीमा छुट्टिने भए । माओवादी केन्द्र ब्युत्तिएपछि प्रचण्ड माओवादी केन्द्रलाई नै बलियो बनाउनेतिर लागे । ओली एमाले बलियो बनाउनेतिर लागे । माधव नेपाल एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर अगाडि बढे । तर, नेता भुसालले एमाले छोडेनन् । एमाले अध्यक्ष ओलीले पटक–पटक कारबाहीको डण्डा चलाउँदा पनि सहेरै बसे । अहिले पनि भुसाललाई कारबाही गर्ने सिफारिस एमालेको अनुशासन आयोगले अनुमोदन गरेर अगाडि बढेको छ । तर, नेता भुसालअविचलित रूपमा वाम एकताको रटान लगाइरहेका छन् ।

निरन्तर वाम एकताको वकालत गर्दै आएका भुसालले बुधबार औपचारिक रूपमै एकताको पहलको सार्वजनिक पहल र आह्वान गरेका छन् । भुसाललाई साथ दिँदै वाम एकताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका युवाहरूको समूहले बुधबार राजधानीको राष्ट्रिय सभागृहमा ‘वामपन्थी आन्दोलनको संकट र वाम एकताको उपाय’ विषयक कार्यक्रम नै राखे । जसलाई सम्बोधन गर्दै नेता भुसालले वाम एकताको सम्भावना देखाउने प्रयास गरे । वाम एकताको सम्भावना केलाउँदै गर्दा उनले नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको कमजोरी मात्रै केलाएका छैनन्, ओलीले आत्म समीक्षा गर्नुपर्ने मात्रै भनेका छैनन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू र तीनका नेतृत्वले विगतमा गरेका कमीकमजोरी र अब बाम एकताका लागि लिनुपर्ने पहल के हुन सक्छ भन्ने उपायहरू सुझाउने प्रयास गरे ।

वाम एकता नेपालको सन्दर्भमा अपरिहार्य रहेको सबैले महसुस गरेको भुसालको दाबी छ । तर, उक्त महसुस अनुसार बाम एकताका लागि माहौल बन्न नसकिरहेको उनको बुझाई छ । बाम एकताको महसुस भएको तर, माहौल बन्न नसकिरहेको अवस्थालाई ख्याल गरेर सुरुमा ‘माफी सप्ताह’ आयोजना गर्न सकिने उनको फर्मुला । माफी सप्ताहमा कसैले कसैसँग व्यक्तिगत रूपमा माफी माग्नु नपर्ने तर, कम्युनिस्ट आन्दोलन र बाम एकतालाई बलियो बनाउन विगतमा खेल्नुपर्ने भूमिकामा आफ्नो कमजोरी कहाँनेर रह्यो भनेर सामूहिक रूपमा आत्म समीक्षा गर्ने र समग्र रूपमा नेता, कार्यकर्ता, समग्र कम्युनिस्ट आन्दोलनप्रति नै माफी माग्ने उनको उपाय छ । यसो गर्दा महसुस भएको तर, बन्न नसकेको बाम एकताको माहौल बन्ने नेता भुसालको ठम्याई रहेको छ । र यो काम आसन्न प्रदेश र संघीय चुनाव अगाडि नै गर्नुपर्ने उनको शर्त छ । तातेको बेलामा फलाम हान्ने भने जस्तै ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको चुनावी परिणामले वाम एकताका लागि प्रेरित गरेको उनको निष्कर्ष छ । यसका पछाडि भुसालका दुई तर्क छन् ।

पहिलो- बाम एकता हुन नसके कांग्रेस बलियो शक्तिमा रूपमा प्रदेश र संघमा समेत उदाउनेछ । स्थानीय तह समेत गरी देशभर कांग्रेस शक्तिशाली शक्तिको रूपमा उदाउनेछ । कांग्रेस सुविधाजनक बहुमतमा हुँदा मुलुक पश्चिमा धारमा ढल्किने र नेपालको असंलग्न परराष्ट्र नीति खलबलिने र मुलुकलाई दीर्घकालीन रूपमा असर पर्न सक्ने उनको विश्लेषण छ । यसका संकेतहरु देखा परेको भन्दै उनी उदाहरणका रूपमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी र अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) । एमसीसी संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने बित्तिकै एसपीपी सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिएको छ । एसपीपीमा अमेरिकी सेनाले नेपाली सेनासँग साझेदारी गर्ने र त्यस अन्तर्गत नेपालको उच्च भूभागमा सैन्य अभ्यास गर्ने लगायतका विषयहरू छन् । नेपालको उच्च भेगहरू चीनको सीमामा पर्दछन् । चीनको सीमामा अमेरिकन सेनाले सैन्य अभ्यास गर्ने विषयलाई चीनले आफूलाई घेर्ने अमेरिकी रणनीतिका रूपमा बुझ्दै नेपालसँगको सम्बन्धमा समेत गम्भीर निर्णय लिन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्ने र त्यसका लागि बाम एकता आवश्यक रहेको नेता भुसालको तर्क रहेको छ ।

दोस्रो- कम्युनिस्ट आन्दोलनको भविष्य । यदि बाम एकता नभएको खण्डमा माओवादी केन्द्र नेकपा एकीकृत जस्ता कम्युनिस्ट शक्तिहरू कांग्रेससँग मिलिरहने र कांग्रेसले मुलुकको नेतृत्व गरिरहने स्थिति सिर्जना हुन्छ । कांग्रेसले नेतृत्व लिइरहँदा कम्युनिस्टहरूलाई सकाउने गरी केही दिए जस्तो गरी बिस्तारै सकाउने नीति लिन सक्छ । चाहेर, नचाहेर पनि कम्युनिस्ट शक्तिहरू कांग्रेसको पछि पछि लागिरहन बाध्य हुन्छन् । विगतमा बाम एकता हुँदा ५० वर्ष शासन गर्छु भन्ने कम्युनिस्टहरूलाई समेत नेतृत्व गर्दै कांग्रेसले आफैँ लामो समय सत्ताको नेतृत्व गर्ने माहौल बनाउनेछ । आसन्न प्रदेश र संघीय चुनावमा सबैभन्दा ठूलो र बलियो शक्तिमा रूपमा उदाएपछि कांग्रेसले एमाले बाहेकका दलहरूलाई विभिन्न नियुक्तिमा भागवण्डा, सरकारमा भागवण्डा दिएर आफैँसँग पाँचै वर्ष राखिरहने र पाँच वर्ष पछिको चुनावमा कम्युनिस्टहरूलाई अझ कमजोर बनाउने रणनीति लिन सक्छ । कांग्रेसले यस्तै रणनीति लिएर नेपालमा रहेका कम्युनिस्ट शक्तिहरूलाई बिस्तारै सकाउने नीति लिन लिन सक्छ । बाम एकता हुन नसकेको खण्डमा कांग्रेसको नीतिअनुसार उसैसँग लागेर कम्युनिस्टहरू आफैँ सकिने बाटोमा अगाडि बढ्नुपर्ने बाध्यतामा रहन सक्छन् । यसकारण कम्युनिस्टको अस्तित्व रक्षाकै लागि बाम एकता आवश्यक रहेको नेता भुसालको बुझाई रहेको छ । अहिलेको परिस्थिति कम्युनिस्ट पार्टीहरूका सामुन्ने एकता वा सत्यानाश बाहेक अरू विकल्प नरहेको भन्दै उनी आफूले अगाडि सारेका विकल्प अनुसार बाम एकतामा सामेल हुनुको विकल्प देख्दैनन् ।

सबै कोणबाट बाम एकता गरौँ भन्ने माहौल बनेपछि के गर्ने ? भन्ने विकल्प पनि सुझाउँछन् उनी । चुनाव अघि बाम एकताको घोषणा गर्ने र चुनावपछि पार्टी एकता गर्ने । माफली शप्ताह लगत्तै तत्कालका लागि वाममोर्चा घोषणा गर्न सकिने उनी बताउँछन् । यसका लागि फेरि पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गम्भीर भएर सोच्नुपर्ने उनको बुझाई छ । तत्कालीन नेकपामा केपी ओली र प्रचण्डले गोप्य सम्झौताबाट गरेको पार्टी एकता सिद्धान्तहीन थियो भनेर भन्न सक्नुपर्ने भुसाल बताउँछन् । दुवै नेताले यसो भन्दा गल्ती दुवैले महसुस गरेको सन्देश कार्यकर्तामा जाने र अब सिद्धान्तसहितको एकता गरौँ भन्ने भावना जागृत हुने नेता भुसाललाई लाग्छ ।

ओली र प्रचण्डले विगतमा सिद्धान्तहीन एकता गरेको स्वीकारेपछि समग्र रूपमा प्रतिनिधिसभा विघटन गलत थियो भनेर स्वीकार गर्नुपर्ने नेता भुसाल बताउँछन् । प्रतिनिधिसभा विघटन गलत थियो भनेर स्वीकार गर्दा नेता एकीकृत समाजवादी र माओवादी केन्द्रलाई बाम एकतामा सामेल भइहाल्ने वातावरण बन्ने नेता भुसालको ठोकुवा छ ।

चुनाव अगाडि बाममोर्चा, चुनाव लगत्तै पार्टी एकता र एकताको महाधिवेशनलाई लक्षित गरेर सिद्धान्तअनुकूलको कार्यक्रम र सङ्गठनात्मक संरचना बनाउने उनको अर्को बाम एकताको फर्मुला रहेको छ । यसका लागि असार महिनाभर समीक्षा गर्ने, बाम एकताको पहल गर्ने, साउन १ गतेबाट माफी सप्ताह आयोजना गर्ने र बाम एकताका लागि एकेबद्धता बढाउँदै लगेर बाम एकतालाई मूर्त रूप दिन सकिने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *