मन्त्री अथक र रसियाका खेलकुद मन्त्रीबिच भेटवार्ता

काठमाडौँ । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुदमन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबैदेशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

भेटमा बोल्दै मन्त्री अथकले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए।

नेपालको खेलकुद क्षेत्रको विकासमा रसियाले देखाएको चासोप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री अथकले नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई छात्रवृत्ति सहयोगमा “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” फलदायी हुनेमा विश्वास व्यक्त गरे । आगामी दिनमा यो कार्ययोजनालाई थप विस्तार गर्दै लग्नुपर्नेमा मन्त्री अथकले जोड दिएका थिए ।

भेटकै क्रममा मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारीक निमन्त्रणा समेत दिएका छन् । उक्त अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले अब नेपाल रसिया सम्बन्ध खेल पर्यटन र खेल कुटनीतिमा समेत आधारीत हुने बताएका थिए ।

यसैबिच नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्षसँग पनि छलफल गरेको मन्त्रालयका सचिव रेग्मीले जानकारी दिएका छन् । छलफलमा अन्तराष्ट्रिय बक्सिङ्ग संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पुर्वाधार, बक्सिङ्ग एमेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेको बताएका थिए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =