राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियान : सङ्गठित हुने, दल दर्ता नगर्ने

काठमाडाैँ । डम्बर शाहू नेतृत्वकाे ‘राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियान’ले लुम्बिनीकाे बुटवलमा भर्खरै नागरिक भेला तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न गर्‍याे । कार्यक्रममा स्थानीय निर्वाचन २०७९ काे समीक्षा त भयाे नै सँगै आसन्न प्रादेशिक तथा सङ्घीय निर्वाचनबारे पनि छलफल तथा सुझाव सङ्कलन गर्ने काम भयाे । कार्यक्रममा मूलत: प्रादेशिक तथा सङ्घीय निर्वाचनमा कुनरूपमा हाेमिने (?) भन्नेबारे छलफल भयाे ।

यसबारे छलफलका क्रममा मिश्रित प्रतिक्रिया तथा सुझाव आए । कतिपयले ‘अब दलीयरूपमा जानुपर्छ, दल दर्ता गरेरै अगाडि बढ्नुपर्छ’ भन्ने प्रस्ताव अघि सारे भने कतिपयले ‘सङ्गठित हुने तर दल दर्ता नैचाहिँ नगर्ने’ भन्ने धारणा तथा सुझाव दिए । त्यसमा अहिल्यै निष्कर्षमा पुग्न नसिकएकाे संयाेजक शाहू बताउँछन् । उनले भनेका छन्, ‘अझै पनि हामी छलफल गर्नेछाैँ । अन्य जिल्ला तथा प्रदेशहरूमा पनि छलफल गर्दैछाैँ । त्यहाँका साथीहरूकाे सुझाव पनि सुन्नेछाैँ । त्यसपछि यी यावत् कुराहरूबारे निर्णय लिनेछाैँ ।

♦ याे पनि:
   ‘यसपटक ६० भन्दा धेरै स्वतन्त्र उम्मेदवारहरूले जित्नेछन्’ (भिडिओसहित)

आफूहरूसँग ८ हजार ७ सयभन्दा धेरै सदस्यहरू जाेडिएकाे अभियानका सदस्यहरू बताउँछन् । उनीहरू सबैकाे मतलाई सम्मान गरेर जाने पक्षमा आफूहरू रहेकाे संयाेजक शाहू बताउँछन् । ‘हामीले सबैकाे मतलाई सम्मान गरेर जाने भनेका छाैँ,’ उनले भनेका छन्, ‘त्यसमा बहुमतलाई मान्नेगरी हामी जान्छाैँ ।’ बुटवलमा भने दुईथरी प्रस्ताव तथा सुझाव आएकाे उनी बताउँछन् । ‘साथीहरूकाे सुझाव र प्रस्तावलाई सुन्याैँ,’ उनले भने, ‘त्यसलाई हामीले सम्पत्तिकारूपमा ग्रहण गरेका छाैँ । यसबारे अझै छलफल गर्छाैँ र काठमाडाैँमै निर्णय लिन्छाैँ ।’

मत मिल्नेसँग चुनावी तालमेल ?

दलीयरूपमै अगाडि बढ्ने कि अभियानबाटै (?) भन्नेबारे अन्तिम निर्णय असार १७ र १८ गते काठमाडाैँमा आयाेजित भेलाले गर्ने संयाेजक शाहू बताउँछन् । ‘त्यहाँचाहिँ  निर्णायक भेला भनेका छाैँ । अन्य भेलाबाट सङ्कलित सुझावहरूकै आधारमा हामीले त्यहाँ अन्तिम निर्णय गर्नेछाैँ,’ उनले भनेका छन् । तर आफू अहिलेकै अभियानबाट जानुपर्छ भन्ने पक्षमा रहेकाे उनले दाेहाेर्‍याए । ‘मचाहिँ व्यक्तिगतरूपमा दल दर्ता गरेरै जानुपर्छ भन्नेमा छैन,’ उनले भनेका छन्, ‘हामीले दलकै विकल्प खाेज्दैगर्दा फेरि आफूपनि दलकरण हुनु हुन्न कि जस्ताे लागेछ । त्याे पनि फेरि बहुमत साथीहरूकाे मतलाई मान्नुपर्छ भन्ने पनि लागेकाे छ ।’

तर, मत मिल्ने र वैकल्पिक राजनीतिकाे अभ्यास गरिरहेका दलहरूसँग भने चुनावी तालमेलसम्म हुनसक्ने सङ्केत शाहूले गरेका छन् । ‘प्रदेश र सङ्घकाे निर्वाचन स्थानीयजस्ताे हाेइन,’ उनले भने, ‘याे अलिक फरक छ । जसबारे छलफल हामीले बुटवलमा पनि गरेका छाैँ । यसाे हुँदाखेरी याे चुनाैतीलाई कसरी चिर्ने भन्नेबारे छलफल गर्नेछाैँ । हामीसँग मत मिल्ने र वैकल्पिक तथा सुसंस्कृत राजनीतिमा विश्वास गर्ने दलहरूसँग मिलेर जानेबारे साेच्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =