आईजीपी विवादः बर्खास्त हुनसक्ने भएपछि एआईजी पोखरेलले बिदा मागेको प्रमाण पनि थपे मिसिलमा

काठमाडौँ । जेठ २९ गते भोलि सोमबार सुनुवाई हुने आईजीपी नियुक्तिसम्बन्धी रिटमा बिदाको विषयले पनि प्रवेश पाउने भएको छ । थप बिदा मागेका विश्वराज पोखरेलको बिदा अस्वीकृत गर्दै आईजीपी धिरजप्रताप सिंहले तत्काल हाजिर हुन निर्देशन दिएका छन्  ।

आईजीपी निर्देशन अनुसार मुद्दाको किनारा नलागी हाजिर नहुने अडानमा रहेका विश्वराजले बिदाको विषय पनि मिसिलमा संलग्न गराएको सर्वोच्च श्रोतले जानकारी दिएको छ । विश्वराजले आफ्ना कानुनी सल्लाहकारमार्फत् मिसिलमा बिदाको विषय संलग्न गराएका हुन्  ।

विश्वराजकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बुधबार नै बिदा मागेको प्रमाण अदालत लगेर मिसिलमा संलग्न गराइसकेको पुष्टि गरिन् । बिदा अस्वीकृत हुँदा पनि हाजिर नभएको भन्दै आफूमाथि कारबाही हुनसक्ने भएपछि पोखरेलले सर्वोच्चमा बिदा मागेको प्रमाण पेश गरेका हुन् ।

उनले प्रहरी कर्मचारी मार्फत लिखित निवेदन पेश गरेका थिए । त्यसै दिन हुलाकमार्फत् पनि बिदा माग गरेका हुन् । हुलाकमार्फत् पठाएको प्रमाण उनले सर्वोच्चमा पेश गरेका हुन् । आईजीपीले दुवै निवेदन अनुसार बिदा अस्वीकृत गरिदिएका थिए ।

तर, प्रहरी नियमावली अनुसार यसले कुनै अर्थ नराख्ने प्रवक्ता विष्णुकुमार केसीले बताए । उनले भने, ‘बिदा प्रहरीको अधिकारको कुरा होइन । बिदा स्वीकृत भइसकेको छ भने त तत्काल फिर्ता बोलाएर काममा लगाउन सकिन्छ । बिदा अस्वीकत गरिएको विषय सर्वोच्चमा गएर केही फरक पर्दैन । बिदा दिने नदिने प्रहरी नियमावलीमै प्रस्ट अधिकार दिइएको छ ।’

बिदा अस्वीकृत भएपनि कार्यालयमा हाजिर नभएका पोखरेल बर्खास्तसमेत हुन सक्नेछन् । अब प्रहरी प्रधान कार्यालयले उनको खोजी शुरू गर्न सक्नेछ । घर परिवारलाई पनि पोखरेल कार्यालय नगएको विषयमा जानकारी गराउनु पर्नेछ । त्यसपछि पनि नआए उनलाई स्पष्टीकरण सोध्न सक्नेछ । ४५ दिनसम्म पनि हाजिर नभए उनलाई बर्खास्त गर्न सक्ने नियमावलीमै व्यवस्था छ ।

तर, पोखरेल भने ४५ दिन पहिले नै अदालतको आदेश आउने अपेक्षामा छन् । अदालतले आफूलाई आईजीपी नियुक्त गर्न आदेश दिए काममा फर्किने नभए राजीनामा दिने उनको तयारी छ । आईजीपी नभए साउन २० गते उनले अनिवार्य अवकास पाउँदैछन् । एआईजीको उमेर हदका कारण उनी अवकास हुन लागेका हुन् ।

गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णयको विरुद्धमा पोखरेल सर्वोच्च पुगेका हुन् । तत्कालीन आईजीपी शैलेश थापाले अन्तिम दिन पोखरेलको ३० दिन बिदा स्वीकृत गरेका थिए । थापाले स्वीकृत गरेको बिदा १९ जेठ १९ गतेनै सकिएको थियो । यस बिचका सार्वजनिक बिदा जोडेर २४ गतेसम्म उनको बिदा लम्बिएको थियो । तर, २५ गतेबाट भने उनी बिनास्वीकृति बिदामा बसेका हुन् ।

धिरजलाई आइजीपी अस्वीकार गरेरै मुद्दा लडेकाले हुनै पनि हालतमा हाजिर नहुने पोखरेलको जिकिर छ । यता धिरज भने एक महिना बढी काम गरिसकेकाले अब आफूलाई नहटाउने विश्वासमा छन् । विश्व पोखरेलले अन्तरिम आदेशमार्फत् हटाउन माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जेठ १७ गतेको पेशीमा पनि सुनुवाइ हुन सकेको थिएन ।

अवकास भइसकेका तीन डीआईजी ईश्वरवावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट पनि सँगै राखिएको छ । १७ गते यही रिटको म्याद तामेली भई नसकेका कारण सुनुवाइ हुन सकेको थिएन । अहिले म्याद तामेली भइसकेको छ । तर, यो रिट पनि जोडिँदा हेर्न नमिल्ने इजलासमा पर्ने संभावना बढी हुन्छ । साउन २० सम्म लम्बिएको अवस्थामा पोखरेल अवकासमा जानेछन् । त्यसपछि, रिट नै खारेज हुनेछ ।

पोखरले र धिरजसँगै २०४९ चैतमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । एसपी हुँदासम्म पोखरेलभन्दा धिरज वरीयतामा निक्कै अगाडि थिए । तर, एसएसपीबाट विश्वराजले उछिने । डीआईजी र एआईजी पनि पोखरेल नै पहिले भए । अहिले त्यसैलाई आधार बनाएर पोखरेलले आफू आईजीपी हुनुपर्ने दाबी गरेका छन् । आफू जेष्ठताका आधारमा आईजीपी हुनुपर्ने उनको माग छ ।

धिरजले भने सरकारले एआईजीमध्येबाट जसलाई पनि आईजीपी नियुक्त गर्नसक्ने र आईजीपी नियुक्तिमा ६ वटा मापदण्ड रहेको जवाफ दिएका छन् । जेष्ठताका आधारमा मात्रै आईजीपी नियुक्त हुन नसक्ने र जेष्ठताकै हिसाबमा पनि पोखरेल प्रक्रियासंगत जेष्ठतामा नरहेको र एउटै ब्याचको भएको बताएका छन् ।

कार्यक्षमतामा पनि पोखरेलभन्दा आफू अब्बल रहेको सिंहको दाबी छ । दुवैले आ-आफूलाई अब्बल दाबी गरे पनि सर्वोच्चले दुई दिनपछि यसको छिनोफानो गर्ने सम्भावना छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *