‘अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको अनुभूति हुन नदिन सरकार लागिरहेको छ’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिलाई दोस्रो दर्जाको हुन नदिने गरी सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

आज बिहीबार मन्त्रालयमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको समावेशी शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो टिप्पणी गरेका हुन् । अपाङ्गता भएकाहरूको समस्या राज्यको समस्या भएको भन्दै शिक्षामन्त्री पौडेलले अपाङ्गता भएकाहरूलाई रोजगारी, शिक्षक, शिक्षक सेवा आयोगको परीक्षाको कुरा र अनुगमको कुरामा समावेशिताका आधारमा समावेश गर्ने प्रतिबद्धता जनाए ।

सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सरकार लागिरहेको मन्त्री पौडेलले बताएका हुन् । अपाङ्गता भएका व्यक्तिहरूको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या पनि सरकारले क्रमशः समेट्ने उनको भनाइ छ । उनले भने, ‘तपाईंहरूलाई दोस्रो दर्जाको नागरिकको अनुभूति हुन नदिने गरेर राज्यको तर्फबाट सम्मान हुनेछ । रोजगारी, सम्मान, अध्ययन, अध्यापन, अनुगमनमा जोड्ने कुरामा अघि बढाउने विश्वास दिलाउन चाहन्छु ।’

यस्तै, मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने कस्ता अपाङ्गता भएका व्यक्तिलाई कसरी र कहाँ शिक्षादिक्षा दिने र उत्पादन भएको जनशक्तिलाई कसरी प्रयोग गर्ने भन्ने समस्या रहेको उल्लेख गर्दै सो सम्बन्धी सरकारसँग कुनै दीर्घकालीन नीति र सोचाइ नरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *