प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिवद्धता व्यक्त गरेको छ ।
सोमवार सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले मुलुक निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका हुन् । प्रमुख सचेतक बुर्लाकोटीले प्रेस स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यास लोकतन्त्रका अनिवार्य अवयव भएको उल्लेख गर्दै रास्वपाले यी सिद्धान्तहरूलाई व्यवहारमै उतार्न चाहेको स्पष्ट पारे ।
नेपालको विकास र लोकतान्त्रिक स्तरलाई युरोपेली वा स्क्यान्डिनेभियन मुलुकहरूको तुलनामा पुर्याउने लक्ष्य राखे पनि त्यसका लागि आवश्यक कानून, पूर्वाधार र सोही अनुरूपको चिन्तन विकास हुन समय लाग्ने उनको भनाइ छ । उनले ती मुलुकहरूको स्तरमा पुग्न केही वर्ष लाग्ने भएपनि त्यसका लागि आवश्यक अभ्यास र प्रयासहरू अहिले नै शुरु गरिसकिएको जानकारी दिए ।
वर्तमान सत्ता समीकरण र संसदीय प्रक्रियामा आफ्नो दलको भुमिकालाई जोड्दै बुर्लाकोटीले देश निर्माणको लक्ष्य प्राप्तिका लागि सञ्चार जगतबाट आउने सुझाव र प्रयासहरूलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने समेत बताए ।








