असार १५ मा पदाधिकारी टुङ्ग्याउँदै माओवादी, को बन्ला महासचिव ?

काठमाडौँ । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अहिले अध्यक्षात्मक प्रणालीबाट मात्रै चलिरहेकाे छ । माओवादी केन्द्रकाे विधानले १५ सदस्यीय केन्द्रीय पदाधिकारीकाे व्यवस्था गरेपनि अहिलेसम्म चुनिएका छैनन् । माओवादी केन्द्रले २०७८ पुस ११ गतेदेखि १८ गतेसम्म ८औं राष्ट्रिय महाधिवेशन काठमाडाैँमा सम्पन्न गरेपनि त्यहाँबाट पदाधिकारीहरू टुङ्गिएनन् । जुन अहिले पनि टुङ्गिएका छैनन् ।

उक्त महाधिवेशन अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गर्दै सकिएकाे थियाे । त्यसबीचमा पनि माओवादी केन्द्रले पदाधिकारी टुङ्ग्याउने भन्दै केन्द्रीय कमिटी बैठक बाेलायाे तर बस्न सकेन । बैठक सर्दै आयाे फलत: पदाधिकारीसँगै अन्य पार्टी कमिटीहरू बन्न सकेनन् । महाधिवेशन सकिएकाे ५ महिना बढी भएकाे छ अब भने माओवादी केन्द्रभित्र पदाधिकारीकाे खाेजी शुरू भएकाे छ ।

यसअघि गत जेठ २० गते पदाधिकारी टुङ्ग्याउनेगरी बैठक बोलाइएको थियो, तर बैठक बसेन । बरु असार १५ का लागि सारियाे । भौतिकरूपमा बोलाइएको उक्त बैठक भर्च्यूअलरूपमा बस्ने भनियाे तर अन्तिममा स्थगित भयाे । उक्त बैठक प्रचण्डले सारेकाे एक केन्द्रीय सदस्य बताउँछन् । ‘बैठकहरू बस्ने त भनिन्छ तर बस्दैन,’ ती सदस्यले भने, ‘अध्यक्षज्यूले नै बैठक बस्न चाहनुहुन्न कि के हो बैठक सारेको सार्‍यै हुनुहुन्छ ।’

योबीचमा ५ महिना माआवादी केन्द्र अध्यक्ष प्रचण्डले मात्रै चलाए । तर अब असार १५ गतेको बैठकले भने पदाधिकारी टुङ्ग्याउने पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन् । ‘योबीचमा त्यस्तै-त्यस्तै समस्याहरू आइलागे र पदाधिकारीसँगै अन्य पार्टी कमिटीहरू निर्माण गर्न पाइएन,’ उनले भने, ‘अब असार १५ गतेको केन्द्रीय कमिटी बैठकले भने केन्द्रीय पदाधिकारी मात्रै होइन, अन्य कमिटीहरू पनि बनाउँछ/टुङ्ग्याउँछ ।’

०००

असार १५ गते पदाधिकारीकाे टुङ्गाे लगाउने भनिएसँगै माओवादी केन्द्रभित्र महासचिव पदका आकांक्षीहरूकाे दाैडधुप शुरू भएकाे छ । उनीहरूले अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गर्न थालेका छन् । अध्यक्षपछिको कार्यकारी पद भएकाले पनि महासचिवका आकांक्षीहरू धेरै देखिएका छन् । सबैकाे ध्यान यतैतिर खिचिएकाे छ । महासचिवका आकांक्षीहरूमा वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्ति बस्नेतलगायत छन् । तर, मुख्य दाबेदारका रूपमा भने पुन र शर्मालाई हेरिएको छ । उनीहरूमध्येमा पनि पुनकै सम्भावना रहेकाे एक केन्द्रीय सदस्य बताउँछन् । ती सदस्य, भन्छन्— ‘अहिलेको अवस्थामा उहाँ (पुन) कै सम्भावना बढी छ । उहाँ अहिले कुनै मुख्य जिम्मेवारीमा पनि हुनुहुन्न र साधारणतयाः महासचिवले गर्ने काम पनि उहाँले नै गरिरहनुभएको छ । यत्तिमात्रै होइन, पार्टीभित्रको मर्यादाक्रमलाई वास्ता गर्ने हो भने पनि उहाँ नै बलियो दाबेदार हाे ।’

त्यसो त यसअघि महाधिवेशन हुँदा पुन चीनमा उपचाररत थिए । त्यसबेला पनि उनले त्यहीँबाटै प्रचण्डलाई फोन गरेर ‘मेरो उपस्थितिमा मात्रै पदाधिकारी टुङ्ग्याउँ’ भनेर प्रस्ताव गरेका थिए, जुन प्रचण्डले सहर्ष स्वीकारेका थिए । हुन पनि पुस १८ गते सकिएको महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरूको २३ गते बसेको बैठक बिनानिष्कर्ष सकिएकाे थियाे । जबकि पुन २५ गते फर्किँदै थिए । त्यसपछि धेरैले प्रचण्डले पुनलाई नै कुरेकाे बताएका थिए । यी यावत् सन्दर्भहरूले पुन नै महासचिव बन्छन् कि भनेर आशङ्का व्यक्त गर्न थालिएकाे छ ।

उसाे त शर्माकाे लाेकप्रियता पनि कम छैन । उनी अहिले राजकीय जिम्मेवारीमा समेत छन् । उनी अर्थमन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा छन् । उनले पनि कुनै पनि हालतमा आफू महासचिवको ‘रेश’बाट पछाडि नहट्ने दाेहाेर्‍याउँदै आएका छन् । यसअघि नै उनले आफू स्वाभाविकरूपमा महासचिवको दाबेदार हुने बताइसकेका छन् । तर नेतृत्वले भने शर्मालाई भन्दा धेरै पुनलाई नै महत्त्व दिएको माओवादी वृत्तमा चर्चा छ ।

शर्मामाथि पार्टीभित्र गुट बनाएकाे आराेप लाग्ने गरेकाे छ । याे कुराले पनि उनीसँग नेतृत्व विश्वस्त हुन नसकेकाे बताइन्छ ।

तर, पुन र शर्माबीचको तिक्तताले महासचिव चयनमा सकस परे अरु नेताहरूबाट विकल्प खाेज्ने पक्षमा नेतृत्व रहेकाे स्राेत बताउँछ । हुन पनि पुन र शर्माबीच सशस्त्र द्वन्द्वकालदेखि नै राजनीतिक तिक्तता रहँदै आएको छ । युद्धका बेलामा रुकुम र रोल्पा पक्षधरबीच दुईधार हुने गरेको थियो, जुन अहिलेसम्म छ भनिन्छ । यदि महासचिव चयनमा पनि यही कारण सकस भएमा उनीहरू दुवैलाई ‘स्कीप’ गर्न सकिने स्राेतकाे भनाइ छ । स्रोतकाअनुसार पुन र शर्माले पार्टीभित्र आपसलाई महासचिवका रूपमा स्वीकारेर लाने स्थिति नबने अन्य नेताहरूले मौका पाउनेछन् । त्यो नेता को हो त ? भन्ने प्रश्नमा स्रोत भन्छ— ‘नामै त फाइनल भएकाे भए पाे भन्नू, जे हाेस् अर्काे विकल्प याे हाे है भनेर भनेकाे हुँ ।’

तर स्राेतले उल्लेख गरेकाे सन्दर्भअनुसार ती नेताहरूमा देव गुरुङ, कृष्णबहादुर महरालगायत हुन सक्ने आशङ्का गरिन्छ । माओवादी र एमालेबीच २०७४ सालमा एकता भएको हो । त्योभन्दा अगाडिसम्म महरा महासचिवको भूमिकामा थिए भने गुरुङ पछिल्लाे समय प्रचण्डका प्रियपात्र बनेका छन् ।

त्यसो त पार्टीभित्र नारायणकाजी श्रेष्ठनिकट नेता गिरिराजमणि पोखरेललाई महासचिव बनाउनुपर्छ भनेर आवाजसमेत उठिरहेकाे छ । तर, त्यसप्रति नेतृत्व सकारात्मक नरहेकाे बताइन्छ । ‘उहाँलाई महासचिव बनाउनु सजिलाे पनि छैन र त्यसप्रति नेतृत्व सकारात्मक पनि छैन भन्ने लाग्छ मलाई,’ एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *