सहिद स्मारक ‘सी’ डिभिजन लिगकाे उपाधि झापा फुटबल क्लबलाई

काठमाडाैँ । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको उपाधि जितेको छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो । झापालाई जित दिलाउन विशाल खवासले दुई गोल गरे । यस्तै मनिष लिम्बु र पुजन राईले एक एक गोल गरे ।

स्वयम्भूका पाल्साङ लामा र राजीव मगरले एक एक गोल फर्काए । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोड्यो ।

दोस्रो बनेको प्लानिङ ब्वाइजले ३१ अंक जोड्यो । प्लानिङ समेत बी डिभिजनमा बढुवा हुने दोस्रो टोली बनेको छ । झापा यसअघि नै दोस्रो डिभिजनको लिगमा उक्लिएको थियो ।

प्रतियोगितामा झापा फुटबल क्लबका पारस कार्की लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइजका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए ।

उनले ३५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा फागुराम थारु र खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *