नेपालको सांगितिक इतिहाससँग साक्षात्कार गराउने एउटा संग्रहालय

काठमाडौँ । त्रिपुरेश्वर चोकको पछाडि रहेको त्रिपुरेश्वर महादेवको मन्दिरको अहिले जीर्णोद्धार हुँदैछ । त्यही मन्दिर परिसरमा एउटा जीर्ण भवन छ । बाहिरबाट बूढो र जीर्ण देखिने यो भवनले मात्रै होइन यहाँभित्रको संग्रहालयले एउटा सिङ्गो इतिहास बोकेको छ भन्दा फरक नपर्ला । किनकि यही भित्र राष्ट्रिय लोक बाजा संग्रहालय ।

संग्रहालयको भित्र भेटिन्छन्, यसका संस्थापक प्रमुख राम प्रसाद कँडेल । उनी विगत २६ वर्षदेखि संग्रहालयको संरक्षणको लागि काम गरिरहेका छन् । बाहिरबाट के होला र यहाँ भने जस्तो देखिने यो लोक बाजा संग्रहालयले भित्र पसिसकेपछि भने यतै रुमल्लिइन्छ ।

ट्याम्को, सनहाई, ढोलक, मादल, खैँजडी, एकतारे, डम्फु, शङ्ख, नौमती बाजा लगायतका ६ सय ५५ प्रकारका लोक बाजाहरू यस संग्रहालयमा संग्रह गरेर राखिएको छ । यसले हाम्रो सानो देशमा रहेको धार्मिक, सांस्कृतिक तथा साङ्गीतिक विविधता झल्काउँछ ।

यो संग्रहालयले आफ्नो अस्तित्व जोगाउन गरेको संघर्ष पनि थोरै छैन । भद्रकालीमा वि.सं २०५८ सालमा सामाजिक संस्था ऐन अन्तर्गत स्थापना भएको राष्ट्रिय लोक बाजा संग्रहालय एक सामाजिक संस्था हो । राज्यको संरक्षणबाट वञ्चित यो संस्था आफ्नै अस्तित्व खोजिरहेको छ ।

०६२ सालमा भद्रकालीमा साँघुरो भएपछि यो संग्रहालय त्रिपुरेश्वरको मन्दिरको गुठी भवनमा सारियो । नेपालमा संग्रहालय ऐन छैन । त्यसैले यो संस्थालाई सरकारले संरक्षण गर्दैन । तर पनि यो जीवित छ र यसले एउटा सिङ्गो देशको साङ्गीतिक गहना बोकेको छ । अझ भनौँ, संरक्षण गरेको छ ।

संग्रहालयको संरक्षणमा नै आफ्नो जीवन व्यतीत गरिरहेका राम प्रसाद भन्छन्, ‘हामी नेपालीको जन्मदेखि मृत्युसम्म संगीत र बाजा जोडिएको छ । यहाँ जति जातजाति बसोबास गर्छन् तिनीहरूको आफ्नै मौलिक संस्कृति छ, आफ्नै बाजा छ । यहाँ जन्मँदा, विवाह उत्सव र अन्य खुसीको मौका र मृत्यु भएपछि पनि बाजा बजाउने चलन छ । तर अब हाम्रो लोक बाजाहरू लोप हुने स्थितिमा पुगेका छन् ।’

प्रविधिको परिवर्तनसँगै हाम्रो मौलिक संस्कृति र बाजाहरू हराउँदै गए । राम प्रसाद भन्छन्, ‘जसरी हामी घरमा बैठक कोठामा एउटा टेलिभिजन राख्छौँ त्यसरी नै घरमा हाम्रो लोक बाजा राख्नु जरुरी छ । धेरै प्रकारका बाजा सम्भव नभए पनि एउटा अनिवार्य राख्नुपर्छ । त्यसो गरेमा बाजा हराएर जाँदैन । युरोप तिर बैठक कोठामा टिभी होइन, पियानो राख्ने चलन छ । युरोपमा यो चलन भर्खर आउँदै छ । तर नेपालमा भने पहिला थियो अहिले यो चलन हरायो ।’

कँडेल एउटा व्यक्तिले एउटा बाजा बजाउन जान्यो भने त्यो धेरै राम्रो कुरा भएको बताउँछन् । उनी भन्छन् , ‘बाजाबाट हामी सुख र दुःख दुवै व्यक्त गर्न सक्छौँ । बाजा भनेको ‘म्युजिकल हिलिङ’ हो । किनभने बाजाबाट निस्कने संगीतले बाच्नको लागि उत्साहित बनाउँछ । कतिपय भाषाका गीत नै नबुझे पनि हामीलाई त्यसमा दिइएको संगीत, बजाएको बाजाले मन्त्रमुग्ध तुल्याउँछ । त्यसैले नै होला संगीतलाई विश्व भाषा भनिएको ।’

कँडेल मानव शरीर पनि एउटा बाजा भएको बताउँछन् । उनी भन्छन्, ‘मानव शरीरका खप्पर, हाड, नली खुट्टा जस्ता अंगको तान्त्रिक बाजा बनाउँछन् । यसको अर्थ कुनै धर्म र सम्प्रदायको विश्वाससँग जोडिन्छ । त्यसैले हाम्रो शरीरमा भएको कुरालाई हामी लोप हुन कसरी दिन सक्छौँ ? हामीसँग भएका सुर र तालको बाजाले मानव शरीरको नकारात्मक इनर्जीबाट बचाउन मद्दत गर्छ । ब्राह्मण, क्षेत्रीले मृत्युपछि शंख बजाउने, लामा, नेवारहरूले पनि बाजा बजाउँदै घाटसम्म लैजाने कुरा उनीहरूको मुक्तिको बाटोसम्म लैजाने संगीतको रूपमा लिइन्छ । त्यसैले यी बाजाहरू एकोहोरो बजाइन्छ भन्ने चलन छ ।’

नेपालमा १३ सय प्रकारका लोक बाजा रहेको पत्ता लागेको छ । तीमध्ये ६ सय ५५ बाजा मात्रै यो संग्रहालयमा छन् । बाँकी कति हराए । धेरै बाजाको बनाउने शैली पनि ती बाजासँगै हराएर गयो । त्यति मात्रै होइन त्यो सँगै यी बाजा बजाउने समुदाय र तिनको अस्तित्व पनि लोप भएर गइसकेको छ । जति बाँकी छन् र ती कस्तो अवस्थामा छ भन्नेबारे थाहा पाउन चाहिँ एकपटक राष्ट्रिय लोक बाजा संग्रहालय पुग्नुपर्ने हुन्छ । यहाँ स्वदेशी पर्यटकले एक सय रुपैयाँ तिरेर घुम्न पाउँछन् भने विदेशी पर्यटकले भने एक हजार रुपैयाँ तिर्नुपर्छ । विद्यार्थीलाई पचासमा घुम्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.