चितवनका सामुदायिक विद्यालयमा पुस्तक अभाव

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अंग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ । अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ ।

गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ । अझै १५ हजार सेट पुस्तक माग भएको उनले बताए । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको उल्लेख गर्दै उनले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताए ।

यहाँबाट वितरण हुने जिल्लामा १६५ पुस्तक पसल दर्ता भएर पुस्तक बिक्री वितरणका लागि लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उनको भनाइ छ । जिल्लामा मात्रै ८९ पुस्तक पसल दर्ता छन् । जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताए । जिल्लालाई उच्च प्राथमिकतामा राखेर थप पुस्तक पठाउनका लागि लिखित रूपमा अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *