श्रीमान्‌को चरम यातनाले अस्ताएकी गीता माझी !

चितवन । खैरहनी नगरपालिका– १०, चितवन माझी बस्तीका स्थानीयले सँगै मर्ने सँगै बाँच्ने कसम खाएर घर भित्र्याएकी श्रीमतीलाई श्रीमान्‌ले नै यतिसम्म यातना दिन्छन् भन्ने समाचार पनि सुनेका थिएनन्। तर, पाँच दिनअघि छिमेकी गीता माझीमाथि भएको श्रीमान्‌को यातना आँखै अगाडि देखे।

गीतामाथि श्रीमान्‌को यातना यसअघि पनि पटकपटक भएको छिमेकीले चाल पाएकै थिए। सामान्य घर झगडा होला भन्ने ठानेर छिमेकीले त्यति धेरै वास्ता गरेनन्। भनिन्छ नि,  ‘श्रीमान्‌ श्रीमतीको घरझगडा परालको आगो।’  यस्तै, सोचेका थिए होलान् गीता माझी र उनका श्रीमान्‌को झगडालाई स्थानीयले।

बिहीबार राति ३८ वर्षकी गीता माझीलाई कोठामा थुनेर उनका श्रीमान्‌ रामचन्द्र माझीले यति धेरै यातना दिए कि, जुन परालको आगो मात्र भएन डढेलो नै भइदियो। छिमेकीले त्यो दिनको घटनालाई बताउन पनि सक्दैनन्। ‘खै कसरी भनूँ, शारीरिक चरम यातना दिएछन्, गुहार मागेपछि हामी घरमा गएर महिलाको उद्धार गरेका हौँ, नत्र त्यही दिन…’ छिमेकी महिलाले भनिन्।

राति कोठाभित्र थुनेर यौनाङ्ग र गुप्ताङ्गमा लौरो घुसाएर श्रीमान्‌ रामचन्द्रले चरम यातना दिएपछि गीताले सकीनसकी हारगुहार गरिछन्। गीताले गुहार मागेपछि छिमेकी महिलाहरू जम्मा भएछन्। प्रहरीलाई खबर गरेछन्। प्रहरीले घटनास्थलबाट यातनाबाट घाइते भएकी गीतालाई भरतपुर अस्पताल पठायो। श्रीमान्‌ रामचन्द्रलाई नियन्त्रणमा लियो।

श्रीमान्‌को चरम यातना व्यहोरेकी गीता माझी भरतपुर अस्पतालमा अस्ताएकी छन्। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले चिकित्सकको अथक प्रयासका बाबजुद पनि गीतालाई बचाउन नसकिएको बताए। उनले भने, ‘गएराति १२ बजे गीताले हामी सबैलाई छोडेर गइन्, चिकित्सक टिमको अथक मिहिनेत थियो, तर उनी रहिनन्।’

उपचारमा सलग्न चिकित्सकहरूले मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्‍ग र मलद्वारबीचको भाग च्यातिएको बताए। उनीहरूका अनुसार यौनाङ्ग र मलद्वारमा गहिरो चोट थियो। कम्मरको हड्डी भाँचिएको थियो। दिसापिसाब रोकिन गाह्रो भइरहेको थियो। भरतपुर अस्पतालमा सोमबार उनको शल्यक्रिया भएको थियो। शल्यक्रिया सफल पनि भयो, तर एक्कासि मुटुको धड्कन बन्द भएर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।

स्थानीयका अनुसार यसअघि पनि श्रीमान्‌ले रक्सी खाने पैसा नदिएको भन्दै दिनहुँजसो कुटपिट गरिरहन्थे। श्रीमान्‌को चरम यातनाका कारण एउटी महिलाले अनाहकमा आफ्नो ज्यान गुमाउनु पर्दा चितवनका महिला अधिकारकर्मी चिन्तित छन्।

गीताका श्रीमान्‌ रामचन्द्रलाई चितवन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको बताए। गम्भीर प्रकृतिको घटना भएका कारण प्रहरीले गहिरो गरी आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ।

गीताकै कमाइमा उनको परिवार पालिएको थियो। ज्याला मजदूरी वा खोलामा माछा मार्ने काम गरेर उनले श्रीमान्‌ र आफ्ना तीन छोरीलाई पाल्दै आएकी थिइन्। उनको उपचारमा विभिन्न सामाजिक संघसंस्थाले सहयोग गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *