नागरिकता विधेयक : सत्तापक्ष प्रतिपक्षबीच सवाल-जवाफ

काठमाडौँ । प्रतिनिधिसभामा नागरिकता विधेयकलाई लिएर सत्तापक्ष प्रतिपक्षबीच सवाल जवाफ भएको छ ।

बुधबार सरकारको नीति तथा कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरे । उनले नागरिकता विधेयकलाई मार्कटिङ गर्न खोजिएको हो कि भन्ने आशंका गरे ।

‘अहिले मार्कटिङ गर्न खोजिँदैछ । संसद्मा विचाराधीन नागरिकता विधेयकको बारेमा यसलाई सेन्सेटिभ इस्वु बनाएर आफ्नो पक्षमा मार्केटिङ गर्ने जो कोसिस गरिँदैछ’ पोखरेलले थपे ।

सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयकलाई सहमतिको आधारमा छिट्टै टुङ्गोमा पु¥याउन पहल गर्ने उल्लेख गरेको छ । यही प्रसंगमा उपाध्यक्ष पोखरेलले टिप्पणी गरेका हुन् ।

‘अघिल्लो सरकारले केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ल्याएको अध्यादेशलाई किन अघि बढ्न दिइएन ? संसदीय समितिमा पनि कसका कारणले अघि बढ्न दिइएन ? मैले नाम लिइरहनुपर्दैन हामी सबै जानकार छौँ’ पोखरे थप्छन्, ‘निर्वाचनलाई प्रभावित पार्ने हिसाबले अहिले फेरि नक्कली हिसाबले ल्याइँदै त छैन ? मेरो प्रश्न हो यो ।’

लगत्तै, नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकका सम्बन्धमा दिएको अभिव्यक्तिको खण्डन गरे ।

कांग्रेस सांसद रिजालले पोखरेललाई प्रतिप्रश्न गरे, ‘तीन बर्ष बढी तपार्इंको सरकार थियो, गृहमन्त्री त्यही सरकारको हुनुहुन्थ्यो । प्रस्तुत गर्नुभयो नागरिकता विधेयक ? त्यसबेला किन अगाडि बढेन नागरिक विधेयक ?’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पास गरेर विधेयकको प्रतिवेदन संसद्मा पेश गर्दासमेत अगाडि नबढाइएको भन्दै रिजालले एमाले उपाध्यक्ष पोखरेललाई प्रतिप्रश्न गरेका हुन् । नेता रिजालले वर्तमान सरकारलाई जति सक्दो चाँडो नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरे । ‘अहिले अनुरोध गर्दछु, माननीय गृहमन्त्रीजीलाई चाँडै गर्नुस् । थुप्रै नेपाली जनता नागरिकता नपाएर नागरिकताको हकबाट बचत हुनुपरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *