चितवनका जनप्रतिनिधिलाई खड्काको सुझाव– ‘जनतासँग गर्ने व्यवहार सुधारौँ’

चितवन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चितवनमा कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई जनतासँग गर्ने व्यवहार सुधार्न सुझाव दिएका छन्।

उपसभापति खड्काले कांग्रेस पार्टीमा सुधारको जरुरत नभएको तर जनतासँग गर्ने व्यवहारमा जनप्रतिनिधिले सुधार ल्याउनैपर्ने बताए। नेपाली कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आज भरतपुरमा सम्मान गर्दै उपसभापति खड्काले आन्तरिक कुरो जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘अबको संघीय चुनावमा दुई तिहाइ ल्याउने गरी लाग्नूस्, मतदाताले कांग्रेसलाई फेरि एकचोटी हेर्न चाहेका छन्। उनले संविधान र जनताको हक अधिकारको रक्षा गर्न कांग्रेसको ठूलो भूमिका रहेको बताए। उनले भने, ‘सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले कांग्रेस नै चाहेका छन्।’

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य दिएका थिए।

कांग्रेसबाट चितवनमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरी २०३ जना निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *