सुन्दरी प्रतियाेगिता खारेजीका लागि सडकदेखि सदनसम्म विद्राेह गर्छाैँ : अमृता थापा (अन्तर्वार्ता)

काठमाडाैँ । जेठको पहिलो सातामा सामाजिक सञ्जालमा भाइरल एक भिडियोले सबैमाझ तरङ्ग पैदा गरिदियो । एक युवतीले आफूलाई ८ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेशनल प्रतियोगीको सक्सेक्स पार्टीमा आयोजकमध्येको एकले बलात्कार गरेको टिकटकमा भिडियो बनाएर कन्फेस गरिन् । भिडियोमा बलात्कारका आरोपित व्यक्तिले भिडियो बनाएर ब्ल्याकमेल गर्दै ६ महिना सम्म पटक पटक बलात्कार गरेको बताइएको थियो ।

यस घटनाले सडकदेखि संसद्सम्म खैलाबैला भयो । नाराबाजी भयो । अहिले आरोपित व्यक्ति पक्राउ परिसकेका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ । अब यो घटनाले फेरी एकपटक सुन्दरी प्रतियोगिता र यसको औचित्यमाथिको बहसलाई ब्युँझाइदिएको छ ।

पहिलेदेखि नै कम्युनिष्ट विचारधारा बोक्नेहरूले सुन्दरी प्रतियोगिताबारे चर्को विरोध गर्दै आएका थिए । त्यसमाथि यस्ता प्रतियोगिताको लागि महिला सुन्दर हुन के के मापदण्ड हुनुपर्ने भन्ने विषय विश्वभरि नै विवादित विषय थियो र छ । मिस नेपाल २०१८ को ताज शृङ्खला खतिवडाले पहिरिएपछि पनि सुन्दरी प्रतियोगिता कम्युनिष्ट  बुबाको छोरीले जितेको भन्दै आलोचना भएको थियो ।

तत्कालीन माओवादी केन्द्रका महिला विद्रोही समूहले सुन्दरी प्रतियोगिता खारेज हुनुपर्छ भन्ने एजेन्डा नै बनाएकाे थियाे । त्यस्ता प्रतियोगिताले महिलालाई वस्तुकरण गर्छ भन्ने उनीहरूको तर्क थियो । अब फेरि त्यतिबेलाकै मुद्दा लिएर माओवादी केन्द्रकी सांसद अमृता थापाले संसद्‌काे महिला तथा सामाजिक समितिमा आवाज उठाएकी छिन् । संसद्‌मा सुन्दरी प्रतियोगिताको औचित्यबारे प्रश्न उठाउने अमृता थापालाई हाम्रो प्रश्न:

तपाईंले ८ वर्षअघि भएको सुन्दरी प्रतियोगिताका सञ्चालकलाई बलात्कारको आरोप लागेपछि संसद्‌मा पुनः सुन्दरी प्रतियोगिताको औचित्यमाथि प्रश्न उठाउनुभएको छ, के सुन्दरी प्रतियोगिता खारेज हुनेबित्तिकै बलात्कार हुन रोकिने हो ?

यसमा सुन्दरी प्रतियोगिता खारेज हुनेबित्तिकै शारीरिक, मानसिक र यौन हिंसा निमिट्यान्न हुन्छ भन्ने होइन । तर सुन्दरी प्रतियोगिता पनि विशेषतः महिलाहरू यौनजन्य हिंसामा पर्ने एउटा बलियो कारणचाहिँ हो भनेका हाे । एउटा त यो टाइटल नै बेठिक छ । सुन्दरी प्रतियोगिता पनि काहीँ हुन्छ ? कोही मान्छेलाई उसको तौल, उचाइ, वर्ण नापेर एक दिन २/४ वटा प्रश्नको उत्तर दिँदैमा सुन्दरी भनेर मापन गर्नै मिल्दैन । सुन्दरी भनेर मापन गर्ने आधार के ? त्यसैले सबै दृष्टिकोणबाट हेर्ने हो भने मनोरञ्जन र अनौपचारिक क्षेत्रमा महिला हिंसा अरू क्षेत्रमा भन्दा बढी नै छ र बढ्दै छ । सरकारी तथ्यले पनि यो पुष्टि गर्छ ।

सुन्दरी प्रतियोगिता खारेज नै गर्न त सम्भव होला र ? खारेजको केही विकल्प पनि होला नि ?

यसरी औपचारिक र मनोरञ्जन क्षेत्रमा भइरहेका हिंसाहरू जस्तै: केही समयअघि पल शाहको केस अहिले र सुस्मिताको केस बाहिर आइसकेपछि अब यत्तिकै चुप लागेर बस्नु भनेको यस्ता यौन हिंसालाई प्रोत्साहन गर्नु हो । कुन क्षेत्रमा समस्या छ भनेर पहिचान गरिसकेपछि त सरकारले यसलाई नियमन गर्नुपपर्‍याे नि । अर्को कुरा यदि यसबाट राज्यलाई कुनै फाइदा छैन भने नियमन पनि किन गरिरहनुपर्‍याे बन्द नै गर्दा हुन्छ । कानूनमा ‘लुप होल’ छ भने त पक्का पनि त्यहाँ हुने हिंसा घट्दैन नि । अर्को कुरा कहिले पनि हाम्रो देशका सुन्दरीहरूले मिस वर्ल्डको ताज जितेका छैनन् ।

यो ताज भनेको जसले डोनेसन दिने हो उसैकोमा जान्छ । हाम्रो नेपाल जस्तो सानो देशले त सुन्दरी प्रतियोगिताको लागि कहिल्यै पनि डोनेसन दिन सक्दैन । त्यो हिसाबले विश्व सुन्दरी प्रतियोगितामा तथा नेपालमा पनि यसबाट राज्यलाई हुने फाइदा के हो भनेर अनुगमन हुनुपर्छ । मूल्याङ्कन हुनुपर्छ । यदि कुनै फाइदा नै छैन भने किन गर्नु सुन्दरी प्रतियोगिता ? मेरो प्रश्न यो हो की सुन्दरी प्रतियोगिता नगरेमा राज्यलाई कती आर्थिक र सामाजिक घाटा हुन्छ ? त्यसको हिसाब किताब कहाँ छ ? त्यसैले सुन्दरी प्रतियोगिता खारेज र खारेज नै नभए पनि नियमन गर्नको लागि यो हाम्रो विद्रोह हो ।

सुन्दरी प्रतियोगितालाई किन यस्तो नकारात्मक दृष्टिकोणबाट मात्रै हेर्नुभएको ? कति महिलाहरू यसबाटै आफ्नो उज्ज्वल भविष्य खोजिरहेका पनि छन् नि त होइन र ?

पहिलो कुरा भनेको यस्ता प्रतियोगिताले महिलालाई विज्ञापनको साधन बनाइरहेको छ भन्ने बुझ्नुपर्छ । त्यहाँ खिचिएका तस्वीरहरू, मोडल भनिएका महिलाको तस्वीरहरू रक्सीको बाेतल, चुरोटको बट्टा, स्याम्पु र साबुनको प्याकेटमा टाँस्नलाई प्रयोग गर्छन् । त्यो गर्न नपाइने कानून हुनुपर्छ । सुन्दरी प्रतियोगिताको सन्दर्भ पनि त्यही नै यसमा कहाँनेरी खराबी छ त्यो हेरेर यसले सुधारको एक मौका भने पक्का पाउनुपर्छ ।

भर्खर ११-१२ मा पढ्दै गरेका किशोरीहरूलाई तिमी रातारात ग्ल्यामरको दुनियाँमा पुग्छौ, तिम्रो फलोअर्स बढ्छ भनेर नै अरूले परिकल्पना गरिदिएको हुन्छ । तर साँच्चै सबै हिंसाबाट बचेर त्यो परिकल्पना गरेको ठाउँमा पुग्ने भनेको १-२ जना मात्रै हुन्छ । त्यही पनि के गरेर कुन अवस्थामा पुग्छन् भन्ने त त्यही भाग लिने नानीहरूले खुलाइरहेका छन् । तर बाँकी जति छन् जसलाई मोडल बन्ने सपना बाँडिएको छ उनीहरूलाई त लोभ देखाएर डोर्‍याउने र हिंसा गर्ने त रहेछ नि । त्यसैले सुन्दरी प्रतियोगिताको उद्देश्य के हो र त्यो उद्देश्य पूरा गर्नका लागि कस्ता नियम बनाउनुपर्ने हो त्यो नबनाई यस्ता प्रतियोगिता गर्नै हुँदैन ।

यहाँ सुस्मिताको केसमा पनि एउटा सक्सेस पार्टी गर्नुपर्छ भन्ने परिकल्पनाले उनलाई त्यहाँसम्म डाेर्‍याएकाे छ । त्यसैले यसले यथार्थ भन्दा परिकल्पनामा हराइदिने काम गर्छ । थोरैको लागि राम्रो भएपनि धेरैलाई हानी गरेको कुरा नै मुद्राको विषय हो । त्यहाँभित्रको कन्टेन्ट पनि सीमित गरिनुपर्छ । फोटोसुट गर्न एक्लै आऊ किन भन्ने ? त्यो कसले हेर्ने त ? अनि कतिसम्म नाङ्गिनुपर्ने भन्ने कुन कोड अफ कन्डक्टले निर्धारण गर्ने । जे भने पनि हुने हो ? जति नङ्ग्याइदिए पनि हुने हो ?

यो घटनाको जिम्मेवार को हुन्छ ? आयोजकले लिने हो की सरकारले ? कि व्यक्ति स्वयंले लिने हो ? आयोजकले ती प्रतिस्पर्धीहरूको सुरक्षाको जिम्मा लिनुपर्छ कि पर्दैन ? कि राज्यले सुरक्षा दिनुपर्‍याे। यस अर्थमा जसरी अरू क्षेत्रमा मनोमानी र हिंसा हुन नदिन केही बन्देजहरू छन् यो क्षेत्रमा पनि हुनुपर्छ । हामीले संसदीय समितिको तर्फबाट कुरा राखेका छौँ । घटनाको छानबिन र कारबाही गर्न निर्देशन पनि दिइसकेको छ । हाम्रो माग भनेको तत्काललाई घटनाको अनुसन्धान र यदि दोषी हो भने कम्तीमा ७ वर्षसम्म जेल भन्ने हो । बाँकी यस्ता प्रतियोगिता नियमन र खारेज सम्बन्धी विद्रोह त सडकदेखि सदनसम्म नै चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.