पदभार ग्रहणसँगै मेयर दाहालको निर्णय; भरतपुरवासीलाई खानेपानी निःशुल्क

काठमाडौँ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्त्वपूर्ण निर्णय गरेकी छन्।

महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु. एक लाख बराबरको छोरी बीमा कार्यक्रमको निर्णय गरिएको छ। पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन्। दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताएकी छन्।

महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक रु. दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ। महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ। बोर्डका ३५ ग्राहक हजार छन्। बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ। महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन्।

महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि रु एक लाखको जीवन बीमा गरिने भएको छ। महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बीमा हुने अनुमान छ। सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन्।

राष्ट्रिय बीमा संस्थानमार्फत् बीमा गर्न लागिएको हो। एकजनालाई वार्षिक रु. तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउनेछ। पन्ध्र वर्षपछि ती छोरीले रु. एक लाख पाउने गरी बीमा गर्न लागिएको हो। अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ।

पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै अधुरा काम पूरा गर्नू पहिलो प्राथामिकता रहेको बताइन्। उनले भनिन्, “भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ।” महानगरवासीलाई निरास हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताइन्।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरूपका योजना अघि बढाइने बताएकी छन्। उनले भनिन्, “अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइनेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *